भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगे
वि.सं.२०७७ कात्तिक १९ बुधवार १२:२९
1.9K
shares
काठमाडौं: भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन् ।
विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विमास्थलबाट उनी नेपाली सेनाको स्कर्टिङमा सोल्टी होटल गएका छन् ।
उनी प्रधान सेनापति पूर्णचन्द्र थापाको निमन्त्रणमा उनि ३ दिने नेपाल भ्रमणमा आएका हुन् । नेपाल भ्रमणको अवधिमा नरवणेले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग औपचारिक भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
बिहीबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी प्रदान गर्ने नेपाली सेनाले जनाएको छ ।
नरवणेले सीमा विवाद चर्किएका बेला चीनतर्फ इंगित गर्दै नेपालले कसैको इसारामा लिपुलेकको मुद्दा उचालेको टिप्पणी गरेका थिए । त्यसैले उनलाई नेपालमा सुरक्षा चुनौती रहेको विश्लेषण नेपाली सेना, नेपालस्थित भारतीय दूतावासलगायतको विश्लेषण छ ।
नरवणेलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन गर्ने, कफन बाँधेर बस्ने जस्ता गतिविधि हुनसक्ने विश्लेषण सुरक्षा अधिकृतहरुले गरेका हुन् । त्यसैले उनको भ्रमणको पूर्वसन्ध्यामा चेकजाँचमा कडाइ गरिएको थियो भने अहिले उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी टोली परिचालित गरिएको छ ।
वि.सं.२०७७ कात्तिक १९ बुधवार १२:२९



















