नेपालमा कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु
वि.सं.२०७७ साउन २६ सोमवार २३:१०
1.6K
shares
काठमाडौं: कोरोना भाइरस संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ ।
तीन जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो भने दुई जनामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं–१० मध्यबानेश्वरका ७६ वर्षीय पुरुषको मेडिकेयर अस्पतालमा उपचारको क्रममा सोमबार मृत्यु भएको जनाएको छ ।
यसैबीच कीर्तिपुर-२ ट्याङ्लाफाँटका ६४ वर्षीय पुरुषको उपचारका क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको छ ।
यसैगरी वीरगञ्जको कोरोना विशेष अस्पताल, गण्डकमा उपचारका क्रममा आइतबार मृत्यु भएकी वीरगञ्ज–१५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार मृत्यु भएका धनुषाको मिथिला बिहारी नगरपालिका–५ का ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार ललितपुरको किस्ट अस्पतालमा काभ्रे पाँचखालकी ५० वर्षकी एक महिलाको मृत्यु भएको छ ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने धनुषा र काभ्रेको मृत्यु अपेडट हुन बाँकी भएकाले ७९ मात्र देखिएको छ ।
यस्तै ३३८ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाँकेमा ६३ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै काठमाडौंका ३६, रौतहटका ३१, मकवानपुरका २३, पर्साका २२, सर्लाहीका २१, दैलेखका १७, प्युठान र मोरङका १५/१५ जना, धनुषाका १३ र कपिलपस्तुका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कैलाली र सल्यानका ७/७ जना, सिन्धुली ६, दाङ ५, ललितपुर, भक्तपुर र नुवाकोटका ४/४ जना, महोत्तरी, बारा र गोरखाका ३/३ जना, मोरङ, बर्दिया, तनहुँ र नवलपुरका २/२ जना तथा झापा, अछाम, अर्घाखाँची, बाग्लुङ, सिन्धुपाल्चोक, चितवन, स्याङ्जा, रोल्पा, सुर्खेत, बैतडी, बझाङ, पाल्पा, रामेछाप, रुपन्देहीका एकएक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालमा कुल कोरोना संक्रमितको २३ हजार ३१० संख्या पुगेको छ ।
वि.सं.२०७७ साउन २६ सोमवार २३:१०



















