नेपाल भ्रमण वर्ष 2020 सुरु, राष्ट्रपतिद्वारा दशरथ रंगशालबाट विशेष उद्टन, प्रधानमन्त्रीद्वारा शुभ-कामना सन्देश जारी
वि.सं.२०७६ पुस १६ बुधवार ०७:३९
1.4K
shares
काठमाडौं: नेपाल भ्रमण वर्ष 2020 आजदेखि सुरु भएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले २०७४ साउन २९ गते सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको थियो । आज राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा एक विशेष समारोहका साथ भ्रमण बर्षको उद्टन गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा विभिन्न कुटनीतिक नियोगका पदाधिकारी, राजदूत, राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्य, तथा सातै प्रदेशका मुख्य मन्त्रीको उपस्थिति रहने छ ।
आरोग्यको वर्ष बनोस्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । नव वर्षका अवसरमा दिएको शुभकामना सन्देशमा उहाँले हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राजनीतिक उपलब्धिको वर्षका रुपमा रहेको, यसै वर्ष हामीले अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थितिलाई थप प्रभावकारी बनाउन सकेको तथा दूरगामी महत्वको ऐतिहासिक नेपाल भ्रमणमा मित्रराष्ट्रका पाहुनालाई सत्कार गरेको स्मरण गर्नु भएको छ ।
“यही समयमा हामीले पृथकतावादी प्रवृत्तिलाई सधैंका लागि अन्त्य गर्यौँ । विकासका केही दूरगामी योजना यसै वर्ष थालनी गर्यौँ भने जनताको जीवनमा प्रत्यक्ष परिवर्तन महसुस गराउने केही आयोजना सम्पन्न गर्यौं । चार वर्षअघिको भूकम्पबाट ध्वस्त भएका संरचनाहरुको पुनःनिर्माण सम्पन्नता उन्मुख छ,” सन्देशमा उनले उल्लेख छ ।
“समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । समग्रमा राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गो समाज यस अवधिमा विकास र समृद्धिको बहसतर्फ केन्द्रित रहन सकेको छ,” सन्देशमा भनिएको छ ।
नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा समेत मनाउँदै लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने बताउँदै प्रधानमन्त्री ओलीले सन् २०२० स्वदेश र विदेशमा रहनुभएका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गर्नुभएको छ ।
वि.सं.२०७६ पुस १६ बुधवार ०७:३९



















