मानव तस्करीको मुद्दामा मिडियाको चासो
वि.सं.२०७५ फागुन १७ शुक्रवार ११:२५
1.8K
shares
नेपालबाट खाडीलगायत अन्य देशमा कामदार पठाउने नाममा हुने मानव तस्करीको नयाँ मार्ग एकाएक चर्चामा आएको छ । इराक र दुबई जान लागेको धेरै महिलालाई म्यानमारको सीमा नजिकैको भारतीय शहर मोरेह,मणिपुरलगायतका ठाउँबाट उद्धार गरिएपछि यो मार्ग चर्चामा आएको हो ।
झण्डै छ महिना अगाडि म स्वयं दिल्लीको पहाडगंज क्षेत्रमा सानो अध्ययन गर्दा त्यहाँका होटलहरुमा मोवाइल फोनले राम्ररी काम गर्ने नगरेको देखिएको थियो । दिल्लीको पहाडगंज, जेबी रोड लगायतको क्षेत्रबाट महिला आयोगले धेरै नेपाली महिलाहरुलाई उद्धार गरि बेचिनबाट जोगाएको छ ।
म स्वयं दुई महिना अगाडि मिडिया फेलोसीपको क्रममा भारतको कोलकत्ता हुँदै म्यानमार गएको थिएँ । नेपालीलाई भारतको कोलकत्तालगायत कुनै पनि अन्तर्राष्ट्रिय विमानस्थलबाट जुनसुकै देशमा जान भिसा भए पनि भारतस्थित नेपाली दूतावासको ‘नो अब्जेक्सन’ पत्र देखाएपछि मात्रै विदेश उड्न दिने नियम बनाएको छ । हुनतः नेपाल सरकारले खाडी देशमा कामदार भई जाने महिलाहरुको हकमा यो नियम लागू गरेको थियो तर यसको असर सम्पूर्ण नेपालीले भारतीय विमानस्थलमा भोग्नु परिरहेको छ ।
म्यानमारमा भइरहेको मिडिया फेलोसीप कार्यक्रममा मानव तस्करहरुले भारतको पहाडि क्षेत्र तथा म्यानमार सीमा क्षेत्रमा बसोबास गर्ने जस्तै अनुहार मिल्नेहरुलाई म्यानमारको बाटो हुँदै इराक, दुबईलगायतको देशमा कामदार पठाउने नाममा मानव तस्करी हुने गरेको विषय उठान भएको थियो । तस्करहरुले हालैका दिनमा चीनमा कामदार पठाउने नाममा चीनको बाटो हुँदै म्यानमार पु¥याउने गरेको विषय खुलेको थियो । तर यसबारे ठोस प्रमाण देखिएको थिएन ।
नेपाली महिलाहरुको नाम र ठेगाना नै परिवर्तन गरेर भारत वा म्यानमारकै नागरिक बनाएर खाडी देशमा पठाउने गरिएकोले यो विषयको सोधखोज झनै कठिन बन्न थालेको हो । यस किसिमको घटनामा उद्धार गर्न समेत कठिनाई भइरहेको कुरा इमप्लस एनजिओ नेटवर्ककी अध्यक्ष हसिना खर्भीले बताएकी थिइन् । त्यही म्यानमारका संचारकर्मी तथा अधिकारकर्मीहरुले म्यानमारका नागरिकलाई वैदेशिक रोजगारमा जान रोक्न नसकिने मौकाको फाइदा अन्यहरुले लिने गरेको विषय बाहिरिएको थियो ।
भारतको राजधानी दिल्लीमा त्यहाँको महिला आयोग, सुरक्षाकर्मी तथा विभिन्न गैरसरकारी संस्थाले कडाई गर्न थालेपछि नेपालबाट कामदार पठाउने मार्गहरु परिवर्तन हुन थालेको बताइन्छ । केही समय अगाडि दिल्लीबाटै बेचिने सक्ने सम्भावना भएकी छ महिला उद्धार गरिएपछि त्यहीबाट निकालिएको सूचनाको आधारमा भारतको मोरेहबाट ४० जना महिलालाई उद्धार गरिएको विषय नेपाली मिडियामा फेब्रुअरी २ तारिखको दिन स्थान पायो । त्यही इष्टमोजो, तहलका, असम ट्रिब्युनसहितका भारतीय मिडियाको अनलाइन संस्करणमा सयभन्दा बढी नेपाली महिलाको उद्धार गरिएको विषय फेब्रुअरी १ र २ तारिखको दिन चर्चामा रह्यो ।
नेपाली मिडियाले ४० संख्या भनेर सानो समाचार र भारतीय मिडियाले सयभन्दा बढी महिलाको उद्धार भएको विषयमा ठूलो समाचार बनाउनुले नै केही गहन अनुसन्धानको आवश्यक्ता रहेको देखिन्छ । बरु नेपालकै अंग्रेजी माध्यमको मिडियाले यो विषयलाई भारतीय अंग्रेजी मिडिया सरह नै स्थान दिएको हो । पहिले नै उठान गरिसकिएको छ, नेपालीलाई भारत तथा म्यानमारको नक्कली नागरिक बनाएर विदेश पठाउने गरिएको छ । त्यसै कारणले पनि एउटै घटनामा नेपाल र भारतको मिडियाले फरक फरक तथ्यांक सार्वजनिक गरिरहेको छ भने उद्धार थालिनु अगाडि नै ६० जना महिलाहरु म्यानमार क्षेत्रमा प्रवेश गरिसकेको आशंका गरिएको हो । उद्धार गरिएकी महिलाहरुको उमेर २० देखि ३५ वर्ष छ । मानव तस्करी गरेको आरोपमा सिन्धुपाल्चोकका ४२ बर्षीया आशाकाली तामाङ समेत नियन्त्रणमा छिन् ।
नेपालबाट माइती नेपाल तथा भारतबाट इम्पलस एनजिओ नेटवर्कलगायतका संस्थाहरुले महिलाहरुको उद्धारमा भारतको महिला आयोग तथा सुरक्षाकर्मीलाई सहयोग गर्दै आएको छ । स्रोतका अनुसार माइती नेपालले ७० जना नेपाली महिलाहरु भारतको मोरेह शहर हुँदै म्यानमार तस्करी हुन लागेको खबर उसका समकक्षी संस्था तथा सुरक्षा निकायसँग गरेको थियो । यस मार्गबाट सयौं नेपाली महिलालाई म्यानमारलगायतको देशमा तस्करी भइसकेको र अझै सो क्रम जारी रहेपछि नेपाल, भारत र म्यानामारको सामाजिक संस्था तथा सरकारका प्रतिनिधिहरु अहिलेसम्म उद्धारको क्रम जारी राखेको छ ।
झण्डै छ महिना अगाडि म स्वयं दिल्लीको पहाडगंज क्षेत्रमा सानो अध्ययन गर्दा त्यहाँका होटलहरुमा मोवाइल फोनले राम्ररी काम गर्ने नगरेको देखिएको थियो । दिल्लीको पहाडगंज, जेबी रोड लगायतको क्षेत्रबाट महिला आयोगले धेरै नेपाली महिलाहरुलाई उद्धार गरि बेचिनबाट जोगाएको छ ।
दुई महिना अगाडि म्यानमारस्थित एउटा पसलमा सामान किन्न जाँदा मसँग नेपाली भाषा बोल्ने साथी रहेकोले हामीले नेपालीमै कुरा गरिरहेका थियौं । एउटा समान राम्रो नलागेको प्रतिक्रिया जनाएको थिए । त्यही बेला त्यहाँ रहेकी महिला कामदारले इशारामै हामीलाई पसलको अर्को कुनामा त्यस्तै तर राम्रो समान रहेको ठाउँमा पु¥याएको थियो । नेपालबाट सडकमार्गको भारतीय बाटो हुँदै म्यानमारमा महिलाहरुलाई पु¥याउने र केही दिन त्यहाँ काम गराएर अन्यत्र पठाउने समेत गरिएको दाबी गर्न सकिने ठाउँ छ । मानव तस्करीको विषयमा नेपाली मिडियाले राजनीतिकै सेरोफोरोमा उठान गर्नुपर्ने खाँचो देखिएको छ ।
नेपालमा आर्थिक वर्ष २०७५/७६ साउनदेखि यता १४८ वटा मानव बेचबिखनको मुद्धा दर्ता भएको छ । त्यही ९५ वटा मुद्दा फर्छौट भएको नेपाल प्रहरीको तथ्यांकमा छ । गत आर्थिक वर्ष २०७४/७५ मा ५४६ मानव बेचबिखनको उजुरी भएकोमा ३०५ मुद्दा फर्छौट भएको थियो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ मा किन्न, बेच्न वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना र बालबालिका लगेको भए पन्ध्र वर्षदेखि बीस वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि दुईलाख रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
(मधेश दर्पण फिचर सेवा)
वि.सं.२०७५ फागुन १७ शुक्रवार ११:२५




















