सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति
वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९
282
shares
काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा आज भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाइँदैछ । आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
एक वर्षअघि यही दिन काठमाडौंका सडकमा हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौं युवा सडकमा उत्रिएका थिए । सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध सुरु भएको आन्दोलन केही समयमै सरकारको कार्यशैली, राजनीतिक नेतृत्वको कार्यक्षमता, भ्रष्टाचार, नातावाद, बेरोजगारी, सार्वजनिक सेवा तथा अवसरको असमानताविरुद्धको व्यापक असन्तुष्टिमा परिणत भएको थियो ।
तर, जेन-जी आन्दोलनका नाममा त्यस दिन सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपतिनिवास, प्रधानमन्त्री कार्यालय, मन्त्री क्वार्टरलगायत ऐतिहासिक र महत्वपूर्ण सरकारी भवन ध्वस्त भए । जेन-जी आन्दोलनका दुई दिनको अवधिमा ७६ जनाको मृत्यु भयो । त्यसमध्ये तीनजना प्रहरीसहित ४५ जनालाई सहिद घोषणा गरियो । जेन-जी आन्दोलनमा ज्यान गुमाएका परिवार अझै पीडामा छन् भने आन्दोलनमै तोडफोड भएका सररकारी संरचना क्षतविक्षत अवस्थामा छन् ।
जेन-जी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले २१ फागुनमा निर्वाचन गरी सत्ता हस्तान्तरण गर्यो । तर, बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको ६ महिना पुग्दा जेन-जी आन्दोलनका घाइते र अभियन्ता नै सरकारको कार्यशैलीप्रति असन्तुष्ट देखिएका छन् । जेन-जी आन्दोलनको उद्देश्य जुन कामको निम्ति थियो, वर्तमान सरकारले त्यसको मर्म बिर्सिएर काम गरिरहेको घाइते र अभियन्ताको आरोप छ । अझै पनि दर्जनौँ घाइते अस्पतालमा उपचाररत अवस्थामा छन् । जेन-जीको रगतमा टेकेर बनेको सरकारले आफूहरूको अपमान गरेको घाइते तथा अभियन्ताको गुनासो छ ।
जेन-जी पुस्ताले उठाएको आवाज सडकबाटै राष्ट्रिय बहसको विषय बनेको थियो । एक वर्षपछि आज ती घटनालाई सम्झिँदै विभिन्न कार्यक्रममार्फत आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गरिँदैछ । जेन-जी सहिद दिवसले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको योगदान र उनीहरूले उठाएका राजनीतिक तथा सामाजिक प्रश्नलाई पुनः स्मरण गराएको छ । आन्दोलनको एक वर्ष पूरा हुँदा त्यसले उठाएका मुद्दा सम्बोधन भए/नभएको विषयमा समेत बहस सुरु भएको छ ।
वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९



















