लाखेजात्रा फुटबलले चिनाएको ताप्लेजुङ
वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६
150
shares
पूर्वी नेपालको किनारामा रहेको ताप्लेजुङ दुर्गम तथा पहाडी भु-भागमा रहेपनि प्रशिद्ध शक्तिपीठ पाथीभरा धाम, विश्वको तेस्रो र नेपालको दोस्रो उच्च हिम शिखर कञ्चनजंघा लगायत धेरैभन्दा धेरै धार्मिक तथा पर्यटकीय स्थलहरु प्रशस्त रहेकोले यो जिल्ला पुग्ने सबैले इच्छा राख्ने गर्दछ । नेवार जातिको संस्कृतिमा आधारित येँय पून्हि (लाखेजात्रा) र सो अवसरमा खेलाइने फुटबल प्रतियोगिताले यो जिल्लालाई थप चर्चा परिचर्चाको बिषय बनाएको छ । परापूर्वकालदेखि नै ताप्लेजुङ जिल्लाको सदरमुकम फुङलिङ बजार लाग्दै आएको लाखेजात्राले परिचित यो मेलाले यो जिल्लाको पहिचान नै बनाएको छ । यो जात्रासँगै सो अवसारमा खेलाइने फुटबल खेलले झन सुनमा सुगन्ध थपिदिएको छ ।
अब म यस जिल्लाको फुटबल खेलको ऐतिहासिक पृष्ठभूमि तथा वर्तमान अवस्थाको छोटो चर्चा गर्दैछु । हामीले लाखेजात्रा फुटवल खेल हिलैमा खेलेर सन्यास लिइयो यो नै रोचक र रमाइलो थियो । ताप्लेजुङमा फुटवल खेलको सुरुवात बारेमा अग्रज तथा पूर्व खेलाडी मध्ये भरत कुमार गुरुङसँग ताप्लेजुङ दुर्गम जिल्ला भएर होला २०२२/०२३ सालसम्म जिल्लामा कुनै खेलमैदान थिएन, जब जिल्लामा माध्यमिक तहको विद्यालयहरु खुल्न थाल्यो तब मात्र विद्यालय स्तरबाट फुटबल खेलको प्रारम्भ भई क्रमिक विकास भएको देखिन्छ ।
खासगरी ताप्लेजुङमा तत्कालिन भानु पब्लिक हाइस्कुल तोक्मेडाँडा जहाँ हाल नेपाली सेनाको गुल्म अवस्थित छ यस मैदानमा ठुलो तलाउ वा पोखरी थियो । विद्यालयका प्रत्येक कक्षाका विद्यार्थीहरुबाट दिनको एक घण्टी अनिवार्य रूपमा माटो खनेर पोखरी पुर्न लगाइन्थ्यो । पछिबाट स्थानीयबासी, नेपाली सेना लगायतको सहयोगमा २०२४ सालतिर पूर्णरूपमा पोखरीको पानी सुकाएर खेल मैदान तयार भएको हो । त्यस बखत ताप्लेजुङको कुनैपनि स्थानमा फुटबल खेल मैदान थिएन, फुटबल समेत आजको जस्तो राम्रो पाईदैनथ्यो । बाहिर छाला र ब्लाडरलाई पम्प हालेर खेल्नुपर्ने हुन्थ्यो । साना-साना केटाहरुको लागि रबर गोल पाइन्थ्यो । २०२२ सालमा जब तोक्मेको खेल मैदान तयार भयो त्यसपछि बिस्तारै फुटबल खेलको चहलपहल सुरु भयो । भानु मान.वि.मा त्यस बखत वालकृष्ण श्रेष्ठ भन्ने शिक्षक हुनुहुन्थ्यो । वहाँ फुटबल खेलमा ज्यादै पारखी हुनुहुन्थ्यो । त्यसैगरी सरस्वती मा.वि. हाङपाङका तत्कालीन प्र.अ. गणेश राई, भानु हाइस्कुलका प्र.अ. नरध्वज सुब्बा (एन.डि.सर), कुलमानइजम, कृष्ण श्रेष्ठ, सिद्धिमान श्रेष्ठ जस्ता शिक्षकहरु राम्रो फुटबल खेलाडीहरु थिए ।उहाँहरुको प्रेरणाबाट हामी विद्यालयका विद्यार्थीहरु फुटबल तर्फ आकर्षिक भयौँ । विस्तारै सेनाका जवानहरुसँग समेत खेल खेल्ने अवसर प्राप्त भयो । विद्यालयमा कक्षा-कक्षाबीच र अन्तर सदनबिच फुटवल खेल खेल्न सुरु भयो । विद्यालयको वार्षिक उत्सवमा समेत फुटबल खेल समावेश हुन थाल्यो । त्यसबेला लाखे जात्राको लाखे नाच, धान रोपाई नाच विद्यालयले सञ्चालन गर्ने गर्थ्यो । बिस्तारै लाखे जात्राको अवसरमा फुटबल खेलको आयोजना हुन थाल्यो । बाहिर जिल्लाको टिमलाई आमन्त्रण गर्न थालियो । सबैभन्दा पहिले २०३५ सालतिर आठराई सङ्क्रान्तिको टिमसँग फुटबल खेटबल खेल भएको थियो । त्यसपछि पाँचथरको बागिना क्लबसँग लाखेजात्राको अवसरमा मैत्रीपूर्ण फुटबल खेल भएको थियो ।

२०३० सालमा नयाँ शिक्षा योजना लागु भएपछि भानु मा.वि. तोक्मे डाँडाबाट हालको अम्बिटारमा स्थानान्तर भयो । त्यहाँ पनि उचित खेल मैदान नभएको हुँदा लामो समयसम्म तोक्मेस्थित सैनिक खेल मैदानमै फुटबल खेल सञ्चालन हुन्थ्यो । पछिबाट अम्बिटारमा पनि फुटबल मैदान निर्माण हुँदै गयो । उक्त खेल मैदानमा फुटबल खेल सञ्चालन हुन थाल्यो जब युकेका 7GR का सम्पूर्ण ताप्लेजुङबासी लाहुरेहरुले सन १९७१ मा भेलाभई ताप्लेजुङमा फुटबल खेल विकास गर्न सबै लाहुरेबाट रकम जुटाई पाथीभरा च्यालेञ्ज शिल्ड २०२९ सालमा मकरजंग मादेन, मेहरमान नेयोहाङ लगायतले जिल्ला भित्र्याएपछि पाथीभरा शिल्डको रुपमा फुटबल खेल खेलाउन सुरु भयो । उक्त शिल्डलाई जनमानसमा लाहुरे शिल्ड वा भर्तिवाल शिल्ड पनि भनेर पुकारिने गरिन्थ्यो ।
जब वि.सं. २०३३ सालमा 7GR का अगुवा लप्टन देउमान नेयोहाङको मृत्यु भयो त्यसपछि उक्त 7GR कै ताप्लेजुङका लाहुरेहरुले वहाँको स्मृतिमा Ex. and Servicemen Challenge Cup निर्माण गरी २०३३ सालमै एल.बी. सिवा लगायतले सो कप खेलाएको देखिन्छ । उक्त कप सुरुमा भलिबल खेलको लागि खेलाउन सुरु गरिएको थियो पछि पाथीभरा शिल्डलाई विस्थापित गरी उक्त कप खेलाउन थालियो ।
यसै क्रममा लाखेजात्राको कार्यक्रम क्रमशः विद्यालयबाट समुदायमा हस्तान्तरण भयो । त्यसपछि फुटबल खेल पनि समुदायबाट नै सञ्चालन हुन थाल्यो । हाल लाखेजात्रा सञ्चालक समिति र जिल्ला खेलकुद समितिको आयोजनामा जिल्लाभित्र र जिल्लाबाहिरका टिमहरुबीच फुटबल खेल सञ्चालन हुँदै आएको छ ।
२०२२ सालदेखि २०३४ सालसम्म देखा परेका मुख्य गरी जसध्वज गुरुङ, गणेश मादेन, कालीबहादुर लिम्बू, भरत गुरुङ, डिल्लीजंग मादेन, रनध्वज लिम्बू, मदन आङबुहाङ, सुविन्द्र इजम, भविन्द्र नेयोहाङ, टंक एङदेन, कुलेन्द्र मादेन, राम प्रसाद पालुङ्वा, वीर बहादुर घिरिङ, प्रसाद सिं पालुङ्वा, अम्बर गुरुङ, माधव श्रेष्ठ, पर्वत श्रेष्ठ, पर्शुराम श्रेष्ठ, पुर्ण कार्की, हिमाल श्रेष्ठ, रण बहादुर कार्की, प्रेम एङदेन, चन्द्र एङदेन, सूर्य नेयोहाङ, यादव श्रेष्ठ, भरत श्रेष्ठ, चन्द्र गुरुङ, सूर्य भट्टराई, पुर्ण बहादुर गुरुङ (लाहुरे), रत्नबहादुर एङदेन (पाण्डु), डेलमान गुरुङ, नरेन्द्र गुरुङ आदि जिल्लाका फुटबल खेलाडीहरु थिए । त्यस बखत आठराई सङ्क्रान्तिको मदन मेलामा जिल्लाबाट प्रत्येक वर्ष एक टिम फुटबल खेल्न जाने पनि गर्दथ्यो ।

खेलकुद तथा मुख्य गरी फुटबल खेलको लोकप्रियता हुँदै जाँदा जिल्लाको खेलप्रेमी युवाहरूले लाखेजात्राको अवसरमा वि.स. २०२९ सालदेखि फुटबल खेल सञ्चालनमा ल्यायो र यसरी उक्त खेल अहिले इतिहास रच्दै लाखेजात्रा फुटबल खेल प्रतियोगिताको रूपमा लोकप्रिय छ । भदौ ११ गते देखि भानु जन मा.वि. को खेल मैदान अम्विटारमा चौथो संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कप आयोजना हुँदैछ । गत भदौ ४ गते फकताङलुङ गाउँपालिकाको ५ हजार ३०० मिटरको उचाइमा रहेको स्याम्दो ताल, ४ हजार ७०० मिटरको उचाइमा रहेको सिङजेमा ताल, ओलाङचुङगोलामा अवस्थित ८ सय वर्ष पुरानो दिकिछ्योलिङ गुम्बा, मिक्वाखोला गाउँपालिकाको पर्यटकीय क्षेत्र लोदेन लगायतका क्षेत्रबाट एक साथ खेल तालिका सार्वजनिक गरिएको हो ।
खेलकुदलाई पर्यटन प्रर्वद्धनको संवाहको रुपमा विकास गरिने हेतुले यसरी नयाँ पर्यटकीय गन्तव्यमा स्थलगत भ्रमण गरिएको लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेन बताउनुहुन्छ । साथै खेल अवधिभर नै विभिन्न माध्यमद्धारा ताप्लेजुङ जिल्लमा रहेको पर्यटकीय गन्तव्यहरुको प्रर्वद्धन गरिने कुरा अध्यक्ष मादेन थप्नु हुन्छ ।
गत वर्षको गोल्डकपको खेल तालिका प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिरबाट सार्वजनिक गरिएको थियो भने यस वर्ष थप पर्यटनलाई प्रवर्धन गर्ने उद्देश्यका साथ विभिन्न पर्यटकीय क्षेत्रमार्फत सार्वजनिक गरिएको समितिले जनाएको छ । विभिन्न नयाँ ठाउँका खेलाडीलाई पर्यटकीय क्षेत्रमा भ्रमण गराउने समेत समितिको योजना रहेको अध्यक्ष मादेनको भनाइ छ । समितिले क्वाटर फाइनल चरणका ४ ओटा खेलका लागि २०० रुपियाँ, सेमिफाइनल चरणका लागि ३०० र फाइनलका लागि ५०० रुपियाँ टिकट दर निर्धारण गरेको छ ।

यस वर्षको प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपियाँ र उपविजेताले नगद ५ लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटर साइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाण पत्रको व्यवस्था गरिएको समितिले जनाएको छ ।
पूर्वी नेपालकै लोकप्रिय बन्दै गइरहेको प्रत्येक बर्ष आयोजना हुने लाखेजात्रा आमन्त्रण ताप्लेजुङ गोल्डकप आयोजनाले जिल्लाको खेलकुद तथा पर्यटन विकास भएको कुरा पूर्व अध्यक्ष देवराज गुरुङ बताउनुहुन्छ । स्थानीय कृषि उत्पादन प्रर्वद्धनको लागि फुङफुङदेन पर्यटन विकास समितिका विजय सांवाद्वारा ६० हजार बराबरको अलैचीं सहयोगसँगै स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडद्वारा दोस्रो पुरस्कार प्रायोजन साथै धेरैभन्दा धेरै संघ संस्थाहरु सहयोगी निकायमा रहेर साथ दिएको कुरा समितिका उपाध्यक्ष दावा शेर्पा बताउनु हुन्छ ।
९ दिनसम्म आयोजना हुने यो फुटबल प्रतियोगिताले जिल्लाको व्यापार व्यावसायमा थप टेवा पुग्ने कुरा ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष नारायण थापा बताउनुहुन्छ । भाद्र १८ गते नेपालको चर्चित कलाकार कविता नेपाली लगायत स्थानीय कालाकर्मीहरुको साथ ताप्लेजुङ गोल्डकप सांगितिक कार्यक्रम पनि आयोजना रहेको आयोजकले बताएको छ ।
वि.सं.२०८३ भदौ १२ शुक्रवार १६:१६




















