बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन
वि.सं.२०८३ असार २९ सोमवार १२:४२
264
shares
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत तथा प्रशासनिक असमझदारी बढेको चर्चाकाबीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र रास्वपा सभापति रवि लामिछानेबीच आइतबार बूढानीलकण्ठस्थित लामिछाने निवासमा झन्डै चार घण्टा लामो राजनीतिक भेटवार्ता भएको छ ।
सरकार गठनको छोटो अवधिमै संसददेखि सडकसम्म बढ्दै गएको नागरिक असन्तोष, अर्थ मन्त्रालयसँगको समन्वय अभाव र पार्टीको सांगठनिक सन्तुलनका विषयमा दुई शीर्ष नेताबीच गहन छलफल भएको रास्वपा उच्च स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेन आफ्ना मुख्य सल्लाहकार कुमार बेन र सचिवालयका सदस्यहरूसहित बूढानीलकण्ठ पुगे पनि छलफलको मुख्य भागमा प्रधानमन्त्री शाह र सभापति लामिछानेबीच ‘वान टु वान’ वार्ता भएको थियो । यस भेटवार्तालाई राजनीतिक वृत्तमा सरकारको निरन्तरता र सत्ता साझेदार दलहरूबीचको दूरी कम गर्ने प्रयासका रूपमा हेरिएको छ ।
चैत १३ गते पदभार ग्रहण गरेसँगै सार्वजनिक गरिएको ‘शासकीय सुधारका १०० कार्यसूची’ को कार्यान्वयनको अवस्थाबारे दुई नेताबीच समीक्षा भएको छ । सरकारले आफ्ना अधिकांश बुँदाहरूमा कार्यप्रगति भएको दाबी गरे पनि आम जनतामा त्यसको प्रत्यक्ष प्रभाव नदेखिएको विषयमा सभापति लामिछानेले चासो व्यक्त गरेका थिए । विशेष गरी प्रधानमन्त्रीको सचिवालयलाई अझ बढी गतिशील र चुस्त बनाउनुपर्नेमा लामिछानेले जोड दिएका थिए । बैठकमा तत्कालै मन्त्रिपरिषद् पुनर्गठन (हेरफेर) नगर्ने तर मन्त्रीहरूको कार्यसम्पादन रिपोर्ट कार्डका आधारमा आगामी दिनमा आवश्यक गृहकार्य अगाडि बढाउने सहमति भएको स्रोतले जनाएको छ ।
सत्ताको बागडोर सम्हालेको छोटो अवधिमै प्रतिपक्षी दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले संसदमा घेराबन्दी गरिरहेको अवस्थामा आन्तरिक रूपमा मन्त्रीहरू फेर्ने कार्यले थप अस्थिरताको सन्देश जाने निष्कर्ष दुवै नेताले निकालेका छन् ।
पछिल्लो समय काठमाडौं महानगर र आसपासका क्षेत्रमा सुकुमबासी व्यवस्थापनका नाममा चालिएका कतिपय कदमहरूले सरकारमाथि मानवीय दृष्टिकोण गुमाएको आरोप लागिरहेको छ । माइतीघर मण्डलामा भइरहेका आन्दोलन र हालै कीर्तिपुर बाढीका बेला उद्धारमा अवरोध गरेको आरोपमा युवा अभियन्ताहरू पक्राउ परेपछि सरकारको आलोचना तीव्र बनेको छ ।
त्यस्तै, गणेश नेपालीको आत्मदाहको घटनाले सिर्जना गरेको परिस्थितिलाई लिएर दुवै नेताहरूले गम्भीर आत्मसमीक्षा गरेका छन् । सभापति लामिछानेले सुकुमबासी तथा श्रमजीवी वर्गमाथि राज्य निर्मम बन्न नहुने उल्लेख गर्दै मानवीय हिसाबले उचित विकल्प र होल्डिङ सेन्टरहरूको व्यवस्था गरेर मात्र स्थानान्तरण प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।
सांगठनिक सन्तुलन र महामन्त्रीमा भूपदेव शाहको चयन
रास्वपाको हालै सम्पन्न महाधिवेशनपछि रिक्त रहेका ११ पदाधिकारी र ५१ केन्द्रीय सदस्य चयन गरी केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा पनि दुई नेताबीच लामो संवाद भयो । विशेषगरी प्रधानमन्त्री बालेनका निकट पात्र सचिव भूपदेव शाहलाई महामन्त्री बनाउने प्रस्तावमा केही समय असमझदारी रहेको हल्ला चलेको थियो । भूपदेव शाह गत फागुन २१ को निर्वाचनमा अछाम क्षेत्र नम्बर २ बाट उम्मेदवार बने पनि पराजित भएका कारण चुनाव हारेका व्यक्तिलाई सिधै शक्तिशाली सांगठनिक पद (महामन्त्री) दिँदा पार्टीभित्रका अन्य आकांक्षीहरू असन्तुष्ट हुन सक्ने आँकलन थियो । तर, बालेन र रविबीचको यो निर्णायक वार्तापछि सबै आन्तरिक असमझदारीहरू हल भएको दाबी गरिएको छ ।
वि.सं.२०८३ असार २९ सोमवार १२:४२




















