एक वर्षमै बैंकहरूको नाफा २१ अर्ब रुपैयाँले बढ्यो
वि.सं.२०८२ भदौ ३ मंगलवार ०८:१७
1.7K
shares
काठमाडौं: वाणिज्य बैंकहरूले गत आर्थिक वर्ष २०८१/८२ मा साढे ७१ अर्ब रुपैयाँ नाफा कमाएका छन् । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले समीक्षा अवधिमा कुल ७१ अर्ब ५१ करोड ८ लाख रुपैयाँ नाफा कमाएका हुन् । अघिल्लो आ.व. २०८०/८१ मा बैंकहरूले ४९ अर्ब ८७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । एक वर्षमै बैंकहरूको नाफा २१ अर्ब रुपैयाँले बढेको हो ।
खराब कर्जा दरलाई घटाएर भविष्यमा हुन सक्ने जोखिमका लागि छुट्याइएको रकम पनि ‘राइट ब्याक’ मार्फत नाफामा देखाउन पाउने व्यवस्थाले बैंकको नाफा बढेको हो । वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा १६ वटा वाणिज्य बैंकले नाफा बढाएका छन् भने चार वटाले घटाएका छन् । अघिल्ला वर्ष जस्तै समीक्षा वर्षमा पनि सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक नै छ । बैंकले ७ अर्ब १२ करोड ७५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नाफा वृद्धिदरको हिसाबले कुमारी बैंक अगाडि आएको छ ।
वाणिज्य बैंकहरूको लाभांश क्षमतामा पनि बढोत्तरी भएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा बैंकहरू ३८ प्रतिशतसम्म लाभांश दिन सक्ने हैसियत बनाएका छन् । लाभांश क्षमताका आधारमा एभरेष्ट बैंक पहिलो स्थानमा रहेको छ । एभरेष्टको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । समीक्षा वर्षमा नेपाल बैंक, कुमारी बैंक, हिमालयन बैंक र एनआइसी एसिया बैंक भने लाभांश दिन नसक्ने अवस्थामा रहेका छन् ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा दर पनि उच्च देखिएको छ । सर्वाधिक हिमालयन बैंकको खराब कर्जा ७.२८ प्रतिशत पुगेको छ । नाफाको वृद्धिदरमा छलाङ मारेको कुमारी बैंकको ६.४२ प्रतिशत खराब कर्जा रहेको छ भने एनआइसी एसिया बैंकको ६.२८ प्रतिशत रहेको छ । यस्तै नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५.८५ प्रतिशत, प्राइम बैंकको ५.५६ प्रतिशत, सिटिजन्स बैंकको ४.९४ प्रतिशत, नेपाल बैंकको ४.४७ प्रतिशत, नबिल बैंकको ४.२० प्रतिशत र लक्ष्मी सनराइज बैंकको ४.१२ प्रतिशत खराब कर्जा देखिएको छ । सबैभन्दा न्यून एभरेष्ट बैंकको ०.३८ प्रतिशत मात्र खराब कर्जा छ ।
वि.सं.२०८२ भदौ ३ मंगलवार ०८:१७



















