हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश
वि.सं.२०८१ वैशाख ३ सोमवार १५:३०
1.4K
shares
काठमाडौं: ओमानमा जारी एसिसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘ए’ को तेस्रो खेलमा नेपालले हङकङलाई हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
जितका लागि ११५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १३औं ओभरमा लक्ष्य पूरा गर्यो । जितसँगै नेपाल ३ खेलमा ६ अंक जोड्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अब नेपालले अन्तिम खेल बुधबार साउदी अरबसँग खेल्नेछ । हङकङ भने ३ खेलमा २ अंकका साथ प्रतियोगिताबाट बाहिरिने संघारमा पुगेको छ ।
नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले ७० रनको आक्रामक साझेदारी गरे । कुशलले छैटौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुनुअघि १९ बलमा ३२ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे । आसिफ पनि अर्को ओभरमा पेभेलियन फर्किए । उनले १८ बलमा समान ३-३ चौका र छक्कासहित ४० रनको योगदान दिए । कप्तान रोहित पौडेल २५ रन र सन्दीप जोरा १९ रनमा नटआउट रहे । हङकङका यासिम मुर्तजा र एहसान खानले १-१ विकेट लिए ।
टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको नेपालले उत्कृष्ट बलिङ र फिल्डीङ प्रदर्शन गर्यो । वर्षाका कारण केही ढिलो सुरु भएको खेल १८ ओभरमा झारिएको थियो । तर हङकङ इनिङको १ बल बाँकी रहँदै ११४ रनमा अलआउट भयो । नेपालका लागि अभिनाश बोहोराले ३ तथा ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट हात पारे ।
वि.सं.२०८१ वैशाख ३ सोमवार १५:३०




















