सावित्रा भण्डारीले जोर्डनसँगको फाईनल खेल्न नपाउने
वि.सं.२०८० फागुन १७ बिहीवार ०८:१६
1.7K
shares
काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्रा भण्डारीले खेल्ने छैनन् । उनी फ्रान्सेली क्लब एन अभान्ट ग्वेंगाम्पमा अनुबन्धित भएकोले फिफाको नियम अनुसार फिफा विन्डोमा रहेको राष्ट्रिय टोलीको खेलमा मात्र अनिवार्य उपस्थिति जनाउनुपर्ने नियम रहेको छ ।
वाफ च्याम्पियनसिपको समूह चरणको खेल फिफा विन्डोमा रहेको तर नकआउट चरणका खेल भने फिफा विन्डो बाहिर छन् । नेपाल फुटबल संघ एन्फाले सावित्राले आजको खेल गुमाउने जनाएको छ । फिफाले फेब्रुअरी १९ देखि २८ तारिखलाई महिलातर्फ फिफा विन्डो तोकेको थियो । जसमा ३ खेलसम्म खेल्न पाउने प्रावधान छ । साम्बाले समूह चरणमा नै ३ खेल खेलिसके पनि ग्वेंगाम्पले साम्बालाई सेमिफाइनल खेल्न दिएको थियो ।
तर फ्रान्सेली लिगमा ग्वेंगाम्पले मार्च २ मा निकै महत्त्वपूर्ण खेल खेल्ने र वाफको फाइनल खेलेर उक्त खेलका लागि उपलब्ध हुन नसक्ने भएपछि क्लबले सेमिफाइनल पछि नै उनको माग गरेको हो । रेलिगेसन क्षेत्रमा रहेको लिलसँगको खेल ग्वेंगाम्पको लागि निकै महत्त्वपूर्ण छ । दुई क्लबबीच ४ अंकको फरक छ र यो खेल जिते साम्बा सम्मिलित टोली रेलिगेसनबाट बच्ने लगभग पक्का हुनेछ ।
फिफाको राष्ट्रिय टोली र क्लब सहभागिताको नियम अनुसार क्लबको सम्झौता हुँदा फिफा मितिमा मात्र राष्ट्रिय टोलीमा अनिवार्य सहभागी हुनुपर्ने प्रावधान छ । तर क्लब र फुटबल संघबीच सहमति भएको अवस्थामा भने मिति बाहिर पनि खेल्न पाउनेछन् । साबित्रा दक्षिण एसियामा महिलातर्फ सर्वाधिक गोल गर्ने खेलाडी बनेकी छन् । सावित्राले भारतीय राष्ट्रिय महिला टिमकी खेलाडी बाला देवीको नाममा रहेको ५२ गोलको कीर्तिमान तोडेकी हुन् । जारी खेलमा उनले ९ गोल गरिसकेकी छन् । उनी गोल्डेन बुटकी दाबेदार हुन् ।
वि.सं.२०८० फागुन १७ बिहीवार ०८:१६




















