त्रिवि क्रिकेट मैदान कीर्तिपुमा नेपाल र क्यानडा भिड्दै
वि.सं.२०८० माघ २५ बिहीवार ०७:२५
3.2K
shares
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा क्यानडाविरुद्ध तीन खेलको एक दिवसीय सिरिज आज खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुमा ९:१५ बजे सुरु हुनेछ ।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडा नेपालका लागि १३औं प्रतिद्धन्दी हो । सन् २०१८ मा पहिलो पटक एकदिवसीय मान्यता पाएपछि नेपालले क्यानडासँग पहिलो पटक खेल्न लागेको हो । क्यानडाले आईसीसी टी–२० विश्वकप अमेरिका क्षेत्र छनोटको विजेताको रूपमा पहिलो पटक टी–२० विश्वकपमा स्थान बनाएको छ ।
नेपाल र क्यानडाबीचको ३ खेलको ओडीआई सिरिज माघ २५ देखि २९ गतेसम्म टीयू क्रिकेट मैदानमा हुनेछ । नेपालले आईसीसी विश्वकप लिग-टु को पहिलो सिरिज अन्तर्गत फागुन ३ देखि १२ गतेसम्म नामिबिया र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक एक दिवसीय सिरिज खेल्ने छ ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको एक दिवसीय सिरिज नयाँ युवा खेलाडीका लागि राम्रो अवसर भएको बताएका छन् । मुख्य प्रशिक्षक देसाईले यो सिरिज लिग टु अघि अभ्यासको राम्रो अवसर भएको बताए । पछिल्लो समय क्यानडाले अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेको छ । नेपाली टोलीका पूर्व मुख्य प्रशिक्षक पुबुदु दशानायकेले पदबाट राजीनामा दिएर क्यानडाको मुख्य प्रशिक्षक बनेका थिए । उनै पूर्व प्रशिक्षकविरुद्ध नेपाली टोली मैदानमा उत्रिन लागेको हो ।
वि.सं.२०८० माघ २५ बिहीवार ०७:२५




















