संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सहमतिमा नै टुङ्गो लगाईने: प्रधानमन्त्री दाहाल
वि.सं.२०८० माघ ७ आइतवार १६:०७
1.3K
shares
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयलाई सहमतिमा नै टुङ्गो लगाउने बताएका छन् । उनले असंलग्न आन्दोलन (नाम)को शिखर सम्मेलनमा नेपालको सहभागीता सफल भएको र केहि साइडलाईन भेटवार्ता भएको जानकारी दिए ।
शिखर सम्मेलनमा भाग लिई आइतबार स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसँग सम्बन्धीत विषयमा छलफल भइरहेको भन्दै संसद्को आगामी बैठक सुरु हुने वित्तिकै सहमतिबाट शान्ति प्रक्रियाको बाँकी काम टुङ्गो लगाइने बताएका हुन् ।
उनले सरकारको काम कारबाहीलाई गति दिइएको भन्दै मन्त्रीलाईसमेत सोही अनुसार काम कारबाही गर्न स्पष्ट निर्देशन दिइएको बताए । प्रधानमन्त्री प्रचण्डले रुस वा युक्रेनको लडाइँमा नेपाली युवा रुसी वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील रहेको जिकिर गरे । विगतमा सम्झौता भएका भारत र बेलायत बाहेक अन्यत्र कतैपनि नेपाली युवालाई सेनामा भर्ती गर्ने नीति नभएको उनको भनाइ थियो । उनले नाम सम्मेलनका क्रममा गणतन्त्र युगाण्डाको राजधानी कम्पालामा रुसका उपविदेशमन्त्रीसँग पनि भेटेर परराष्ट्रमन्त्रीले कुरा गरेको स्पष्ट पार्दै नेपाली युवालाई फिर्ता पठाइदिन आग्रह गरिएको बताए ।
वि.सं.२०८० माघ ७ आइतवार १६:०७



















