राष्ट्रपतिको प्रमुख आतिथ्यमा आज टुँडिखेलमा फूलपाती बढाइँ हुँदै
वि.सं.२०८० कात्तिक ४ शनिवार ०७:५५
1.3K
shares
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा आज अपराह्न फूलपाती बढाइँ समारोह हुँदैछ । बडादसैँको सातौ दिन आयोजना हुने फूलपाती बढाइँ कार्यक्रममा सैनिक परेड मुख्य आकर्षण रहनेछ ।
राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन् । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरद्वारा पुष्पवृष्टिका साथै राष्ट्रिय गीतसहित विभिन्न धुन प्रस्तुत हुनेछ । सेनाले फूलपाती बढाइँ अन्तर्गत राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ प्रस्तुत गर्नेछ ।
समारोहमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, उपप्रधानमन्त्री एवं रक्षामन्त्रीलगायत विशिष्ट व्यक्ति सहभागी हुनेछन् । बडादसैंका सन्दर्भमा गरिने फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ ।
वि.सं.२०८० कात्तिक ४ शनिवार ०७:५५



















