नेपाल र चीनबीच विकास परियोजना अन्तर्गत १२ बुँदे सम्झौता
वि.सं.२०८० असोज ८ सोमवार ११:४८
1.3K
shares
काठमाडौं: नेपाल र चीनबीच विभिन्न विकास परियोजना अन्तर्गत १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ । बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।
कृषि, पूर्वाधार, विद्युत लगायतका १२ वटा परियोजनामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सम्झौताको औपचारिक जानकारी संयुक्त प्रेस विज्ञप्तिमार्फत गराइने सचिवालयले जनाएको छ । दाहाल र चिनियाँ समकक्षी छ्याङबीच भेटवार्ता अघि चिनियाँ जनमुक्ति सेनाले गार्ड अफ अनर प्रदान गरेको थियो । यस्तै आजै बिहान प्रधानमन्त्री दाहाल र चिनियाँ जनकंग्रेसका अध्यक्ष झाओ लिजीबीच भेटवार्ता भएको थियो ।
भेटका क्रममा चिनियाँ प्रधानमन्त्री ली छियाङले चीन–नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको चीनले महसुस गरेको बताएका छन् । प्रधानमन्त्री छियाङले नेपालका प्रधानमन्त्री दाहाल भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोगी बनेको बताए । उनले प्रधानमन्त्री प्रचण्डले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याएको उल्लेख गरे ।
प्रधानमन्त्री छियाङले नेपालको सदियौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए ।
वि.सं.२०८० असोज ८ सोमवार ११:४८




















