कृष्णबहादुर महराका पुत्र राहुलमाथि संगठित सुन तस्करीमा मुद्दा चल्ने, म्याद थपका लागि लगियो अदालत
वि.सं.२०८० भदौ १३ बुधवार १७:५६
2.5K
shares
काठमाडौं: माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराका पुत्र राहुल महरामाथि संगठित सुन तस्करीमा मुद्दा चल्ने भएको छ ।
भेपमा सुन लुकाएर तस्करी गरेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीद्वारा पक्राउ परेका उनीविरुद्ध संगठित अपराधमा मुद्दा चल्ने भएको हो ।
सीआईबीले म्याद थपका लागि राहुललाई जिल्ला अदालत काठमाडौं लगेको छ । संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर अनुसन्धान गर्न पाउँछ । यसअघि पक्राउ परेकाहरुविरुद्ध भने प्रहरीले सरकारको नियन्त्रणमा भएको सम्पत्तिमाथि विश्वास घात गरेको भन्ने आरोपमा मुद्दा चलाएको थियो ।
पक्राउ परेकाहरुले विमानस्थल भन्सारले बरामद गरेको भेपको सुन लगेको खुलेपछि पक्राउ परेर मुद्दा चलेको थियो । २०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो । सुन ल्याउने समूहका चिनियाँ नागरिक दाओजिन वाङसँग उनीहरूको सम्पर्क देखिएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयान समेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।
वि.सं.२०८० भदौ १३ बुधवार १७:५६



















