नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै
वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०
213
shares
काठमाडौं: साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले भुटानसँग खेल्दैछ । खेल आज दिउँसो ४:४५ बजे गोवा राज्यस्थित मडगाउँ शहरको जवाहरलाल नेहरु रंगशालामा सुरु हुनेछ ।
आठौं संस्करणसम्म आईपुग्दा ६ पटक उपविजेतामा सीमित नेपालले यसपटक च्याम्पियन बन्दै इतिहास रच्ने लक्ष्य राखेको छ । ७ मध्ये ६ संस्करणमा फाइनल पुगे पनि अहिलेसम्म उपाधि हात पार्न नसक्नु नेपालको लागि दुर्भाग्य बनेको छ । यसपटक भने त्यो इतिहास बदल्ने दृढ अठोटसहित टोली भारत पुगेको छ ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेका लागि साफ च्याम्पियनसिप क्षेत्रीय प्रतियोगितामात्र नभइ प्रतिष्ठा र पहिचानको लडाइँ हो । टोलीमा अनुभवी र युवा खेलाडीको सन्तुलित संयोजन देखिन्छ । अनिता बस्नेत, हिरा भुजेल र गीता रानाजस्ता सिनियर खेलाडीले टोलीको मनोबल बलियो बनाउने छन् । युवा खेलाडीका लागि पनि साफ च्याम्यिनसिप आफ्नो क्षमता प्रमाणित गर्ने मञ्च हो ।
टोलीलाई सबैभन्दा धेरै अभाव सावित्रा भण्डारी साम्बा र सविता रानाको खड्किने छ । यी दुवै अनुभवी खेलाडीले चोटका कारण प्रतियोगिता गुमाएका छन् । ६ टोली सहभागी हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । यस समूहमा भुटान र श्रीलंका छन् । समूह ‘बी’ मा साविक विजेता बंगलादेश, भारत र माल्दिभ्स छन् । त्यसैले सेमिफाइनलमा नेपालले बलियो प्रतिद्वन्द्वीको सामना गर्नुपर्ने लगभग निश्चित छ ।
नेपालले जेठ १७ मा श्रीलंकासँग खेल्ने तालिका छ । सेमिफाइनल २० र फाइनल खेल २३ गते खेलिने छ । पछिल्लो समय नेपाली फुटबलमा देखिएको शक्ति संघर्षको असर खेलाडीमा पनि परेको छ ।
वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०




















