गौर हत्याकाण्डको मुद्दा लिएर अन्तर्राष्ट्रिय अदालत हेगमा जाने आम जनता पार्टीका अध्यक्ष प्रभु साहको चेतावनी
वि.सं.२०८० भदौ ११ सोमवार १६:३१
2.4K
shares
काठमाडौं: आम जनता पार्टीका अध्यक्ष प्रभु साहले गौर हत्याकाण्डको मुद्दा अन्तर्राष्ट्रिय अदालत हेगमा गएर हाल्ने चेतावनी दिएका छन् ।
सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि पीडितले न्याय नपाएको भन्दै न्यायको लागि अन्तर्राष्ट्रिय अदालत हेगमा जाने चेतावनी दिएका हुन् ।
उनले १७ वर्ष अगाडि नै मुद्दा दर्ता भएको भएपनि प्रक्रिया अगाडि नबढेको भन्दै पीडितले नेपालमा न्याय नपाए हेग जाने अवस्था आउने बताए । उनले सरकारले आफ्नो कुर्सी हल्लिने भएपछि गौर हत्याकाण्डको विषयमा छानबिन नगरेको जिकिर गरे । उनले सरकारले कानुनी शासनको खिल्ली उडाउने काम गरेको बताए । उनले सरकारले सत्ता जोगाउनका लागि गौर हत्याकाण्डको छानबिन नगर्ने हो भने पीडितहरू चुप नलाग्ने बताए ।
‘गौर हत्याकाण्ड १७ वर्ष भइसक्यो । मुद्दा दर्ता छ । मुद्दा दर्ता भएपछि दुनियाँले बुझ्छ अब प्रक्रियामा जान्छ । १७ वर्ष अगाडि मुद्दा दर्ता छ तर कानुन लाग्दैन । सरकारले भन्छ हामी छानबिन गर्छौ, तर कुर्सी हल्लिने भएपछि भन्छ केही दिन रोक्नुपर्छ । लटरपटर गर्नुपर्छ । उनले भने ‘कानुनको शासनको खिल्ली उडाउने काम भएको छ ।
यदि सरकारले यसरी सत्ता जोगाउने र लटरपटर गर्ने हो भने पीडितहरू चुप लागेर बस्दैनन् । हाम्रो पार्टी चुप लागेर बस्दैन । पीडितहरू नेपालमा न्याय पाउन सकेनन् भने अन्तर्राष्ट्रिय अदालत हेग जानसक्छ । यो चेतावनी दिन चाहन्छौं हामी ।
अध्यक्ष साहले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरूलाई मुद्दा चलाउनुपर्नेमा केवल साक्षी मात्रै बनाइएको बताए । उनले मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै सो निर्णयको जवाफदेहिता प्रधानमन्त्रीले लिनुपर्ने बताए । मन्त्रिपरिषद्ले गर्ने निर्णयको जवाफदेहिता प्रधानमन्त्रीसँग हुने भएकाले यस प्रकरणमा तत्कालीन प्रधानमन्त्री पनि दोषी भएको उनको भनाइ छ ।
वि.सं.२०८० भदौ ११ सोमवार १६:३१




















