देशभरि डेङ्गुको सङ्क्रमण दैनिक बढ्दै, हालसम्म १३ हजार सङ्क्रमित, सुनसरीमा ५० प्रतिशत भन्दा बढी
वि.सं.२०८० साउन ३० मंगलवार १६:४५
2.4K
shares
काठमाडौं: इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार हाल देशभरि ७४ जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिँदा १३ हजार दुई सय ९२ जना बिरामी परेका छन् ।
डेङ्गुको सङ्क्रमणबाट हालसम्म १० जनाले ज्यान गमाईसकेका छन् । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले लगातार परिरहेको पानीका कारण तथा सरसफाइमा ध्यान नदिँदा डेङ्गुको सङ्क्रमण बढिरहेको बताए । उनले दैनिक सङ्क्रमण बढिरहेकाले सतर्कता अपनाउनु आग्रह गरे ।
“दैनिक डेङ्गुको सङ्क्रमण बढिरहेकाले सरसफाईसहित लामखुट्टेबाट बच्न सतर्कता अपनाउनुपर्दछ”, निर्देशक डा मरासिनीले भने, “डेङ्गु सङ्क्रमण भदौ र असोजमा उच्च हुने जोखिम छ ।” नेपालमा पहिलो पटक सन् २००४ मा डेङ्गुको सङ्क्रमण देखिएको थियो । सन् २०२२ मा ५४ हजार सात सय ८४ जना डेङ्गुबाट सङ्क्रमित भएका थिए भने यसबाट ८८ जनाको मृत्यु भएको थियो ।
डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी सुनसरीमा देखिएको छ । महाशाखाका अनुसार सुनसरीमा ७ हजार ८९ जना डेङ्गुबाट सङ्क्रमित भएका छन् । यस्तै मोरङ १ हजार ५९१, धादिङमा १ हजार २००, झापामा ८९६, कास्कीमा २४७, धनकुटामा २३६, काठमाडौँमा २९६, दार्चुलामा १९४, सङ्खुवासभामा १५६ तथा चितवनमा ९० जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
डेङ्गुको सङ्क्रमण सबैभन्दा बढी कोशी प्रदेशमा देखिएको छ । कोशीमा १० हजार १८२ जना यसबाट सङ्क्रमित भएका छन् । यस्तै बागमती प्रदेशमा १ हजार ७९३, गण्डकीमा ५१०, सुदूरपश्चिममा ४१७, लुम्बिनीमा २६३, मधेसमा ९२ र कर्णाली प्रदेशमा ३६ जनामा डेङ्गुको सङ्क्रमण देखिएको महाखाले जनाएको छ ।
वि.सं.२०८० साउन ३० मंगलवार १६:४५



















