प्रधानमन्त्रीको सचिवालयले भन्यो- राजीनामा माग्नु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय
वि.सं.२०८० असार २१ बिहीवार १४:२३
2K
shares
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले काठमाडौँमा आयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेकोप्रति आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै जनयुद्धबाट शान्ति प्रक्रियामा प्रवेश लगत्तै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सरदार प्रितम सिंहको भेटघाट र चिनजान भएको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि २०६७/०६५ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो । सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका सुपुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिक मात्र नभएर भावनात्मक एवं पारिवारिक समेत हुँदै गएको थियो ।’
संसदबाट निर्वाचित प्रधानमन्त्री प्रचण्ड सदैव संघीय संसदप्रति जबाफदेही रहेको उल्लेख गरेको छ । ‘संसदमा प्रष्टीकरणको मौकासमेत नदिई उहाँको भनाइको आशय विपरीत एकपक्षीय ढंगले प्रचार प्रसार गरिनु दुर्भाग्यपूर्ण छ । दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताका पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ’, विज्ञप्तिमा उल्लेख छ ।
वि.सं.२०८० असार २१ बिहीवार १४:२३



















