एलओडी क्लबका सञ्चालकविरूद्ध पक्राउ पुर्जी जारी
वि.सं.२०८० असार २१ बिहीवार १३:५४
2.3K
shares
काठमाडौं: ठमेलस्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) क्लबमा पुगेकी नाबालिग बलात्कृत भएपछि प्रहरीले क्लबका सञ्चालकहरुविरुद्ध पक्राउ अनुमति लिएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले ललितपुर जिल्ला अदालतबाट क्लबका दुईजना सञ्चालक रुदिल श्रेष्ठ र राजुसिंह सुवालविरुद्ध पक्राउ अनुमति लिएको हो । कम्पनी रजिस्ट्रार कार्यालयमा कम्पनी उनीहरूको नाममा छ ।
गत जेठ ३१ गते बुधबार राति ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिगको बलात्कार भएको थियो । त्यसको भोलिपल्टै नाबालिगले प्रहरीलाई जानकारी दिएपछि आरोपी पोखराका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका थिए । उनी बागडोलमा एक प्राइभेट कम्पनी चलाएर बसेका थिए ।
प्रहरी स्रोतका अनुसार नाबालिगलाई कोइरालाले एलओडी क्लबमा भेटेका थिए । नाबालिग एसइई परीक्षा दिएर बसेकी थिइन् । त्यसराति फेसबुकबाट चिनेका साथीले उनलाई एलओडीमा घुम्न जाने भनेर लगेका थिए । तर त्यहाँ नाबालिगको कोइरालासँग भेट भएको थियो ।
‘नाबालिगले साथीसँगै जान्छु भनेकी रहेछन् । साथी पनि मसँगै जाने हो भनेपछि नाबालिगलाई आफ्नो गाडीमा हालेर बागडोल पुर्याइएको रहेछ,’ स्रोतले भन्यो । यसरी नाबालिगलाई क्लबमा प्रवेश दिँदा बलात्कार भएको भन्दै परिसरले सञ्चालकहरूविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको हो । प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेको जनाएको छ ।
वि.सं.२०८० असार २१ बिहीवार १३:५४



















