स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकारः मन्त्री बस्नेत
वि.सं.२०८० असार १३ बुधवार १४:१९
2K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियनले सफलता पाइरहेको छ ।
बिहिबार उपत्यकाका गंगालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले पनि विपन्नका लागि शैया निःशुल्क गराउने निर्णय गरेपछि मन्त्री बस्नेतको अभियानले सफलता पाउन थालेको हो ।
यसरी विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शैयाको संख्या दुई हजार २८ पुगेको छ । शुक्रबारदेखि कान्तिबाल अस्पतालले ६० शैया, परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालले ४५० शैया, ट्रमा सेन्टरले १५० शैया र शहिद गंगालाल हृदयरोग केन्द्रले ९० शैया निःशुल्क गर्ने निर्णय गरेका छन् । यसरी अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शैयाको संख्या दुई हजार २८ पुगेको छ ।
वीर अस्पतालले आफ्ना ७०० शैया र कोशी अस्पतालले ३३० शैया विपन्नका लागि निःशुल्क गन यस अगाडि नै घोषणा गरिसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले बिस्तारै देशभरिका केन्द्रिय अस्पतालहरुमा पनि विपन्नका लागि निःशुल्क शैया थप्दै जाने बताए । मन्त्री बस्नेतले ती शैयामा उपचार पनि निःशुल्क हुने जानकारी दिए ।
शैया निःशुल्क गरेपछि अस्पतालहरु माथि पर्ने आर्थिक भार कम गर्ने केहि बजेट सम्बन्धीत अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरि काम भईरहेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले बजेट अभाव भयो भन्दै सरकार पन्छिन नमिल्ने भएकाले यो निर्णय सबै अस्पतालहरुले कार्यन्वयन गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।
निजी अस्पतालहरुलाई पनि जिम्मेवार बनाउन नियम अनुसार उनीहरुले पनि कुल शैयाको १० प्रतिशत शैया विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने नियम पनि कडाईका साथ आफूले लागु गराई रहेको मन्त्री बस्नेत जानकारी गराए ।
वि.सं.२०८० असार १३ बुधवार १४:१९



















