महिला टि-२० आईः एक खेल अगावै सिरिज जित्ने लक्ष्यमा नेपाल
वि.सं.२०८० जेठ २० शनिवार ०७:१८
1.7K
shares
काठमाडौं: नेपालले महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा आज मलेसियासँग खेल्दैछ । पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल २–१ को अग्रतामा छ ।
नेपाल आजको खेलमा जितका साथ एक खेल अगावै सिरिज जित्न चाहन्छ । नेपालको दुबै जितमा कप्तान रुविना क्षेत्री बेलबासे प्लेयर अफ द म्याच चुनिएकी थिइन् । रुविनाले दोस्रो खेलमा २९ र तेस्रो खेलमा २७ रन जोडेकी थिइन् । उनको प्रदर्शन आज पनि महत्वपूर्ण हुनेछ ।
नेपालले सीता रानामगर, ज्योति पाण्डे, काजोल श्रेष्ठ र विन्दु रावल गरि चार प्रमुख ओपनर मैदान उतार्दै आएको छ । ओपनिङ सीता र कविता कुँवरले गर्दै आएका छन् । विन्दु र काजोल मध्य एकलाई बेन्चमा राख्दै अप्सरी बेगमलाई मौका दिनसक्छ । पछिल्लो खेलमा ज्योति पाण्डेले २४ बलमा ३ चौकासहित २३ रन जोडेको हुँदा निरन्तरता दिनेछ ।
नेपालको तीव्र गतिको बलरमा अश्मिना कर्माचार्य र कविता कुँवर छन् । यी दुई बलर प्रमुख हतियार हुन् । स्पिनरमा सीता र रुविना हुनेछन् । मध्य गतिको बलरमा इन्दु बर्मा हुनेछिन् । इन्दु बर्मालाई ब्याटिङमा पनि राम्रो प्रदर्शनको दबाब हुनेछ ।
पछिल्लो खेलमा नेपालविरुद्ध ४४ रन जोडेकी महिराह इजाती इस्माली घातक बन्न सक्छिन् । कप्तान मास एलिसा र विनीफ्रेन्ड मलेसियाका प्रमुख ब्याटर हुन् । तीव्र गतिकी बलर निक नुरले यस सिरिजमा राम्रो प्रदर्शन गर्दै आएकी छिन् । एश्या एलिसा पनि नेपाली ब्याटरलाई टाउको दुखाई बन्नसक्छिन् ।
नेपाल पहिलो खेलमा ५ विकेटले पराजित भएको थियो । नेपाल दोस्रो खेलमा ७ विकेट र तेस्रो खेलमा २७ रनले विजयी भएको थियो । अन्तिम खेल आइतबार हुनेछ ।
वि.सं.२०८० जेठ २० शनिवार ०७:१८



















