१९औं एसियाली खेलकुद व्यबस्थापनका लागि सचिवालय स्थापना
वि.सं.२०८० जेठ १९ शुक्रवार १८:३४
1.9K
shares
काठमाडौं: त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को हातामा १९औं एसियाली खेलकुदको तयारी, सहभागिता र व्यबस्थापनका लागि सचिवालय स्थापना गरिएको छ ।
युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शुक्रबार १९औं एसियाली खेलकुदको सचिवालय उद्घाटन गरे । सो अवसरमा राखेपका सदस्य सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति रहेको थियो ।
सचिवालयको उद्घाटन गर्दै मन्त्री लिम्बूले एसियन गेम्समा नतिजा निस्कने गरि काम गर्न निर्देशन दिए । नतिजा निकाल्न एकजुट भएर काम गर्न मन्त्री लिम्बूले आग्रह समेत गरे । ‘एसियन गमेसको तयारीमा जुटिरहनु भएको छ । राम्रो व्यवस्थापनका लागि जुटिरहनु भएको छ । तयारी प्रभावकारी हो । सबैले आफ्नोबाट राम्रो गर्नुहोस् । स्वार्थभन्दा माथि उठेर काम गर्नुस,’ मन्त्री लिम्बूले भने, ‘ यस एसियन गेम्स नतिजाका लागि हो । त्यसका लागि एक भएर अघि बढौ । खेलाडीलाई ढुक्क भएर खेल्ने वातावरण निर्माण गरौँ ।’
सदस्य सचिव घिसिङले एसियन गेम्सको तयारीलाई चुस्त बनाउने सचिवालय स्थापना गरिएको जानकारी गराए । ‘एसियन गेम्सको सहभागितालाई सरकारले प्राथमिकतामा राखेको छ । आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको छ । एसियन गेम्सको तयारीलाई चुस्त बनाउन सचिवालय स्थापना गरिएको हो,’ सदस्य सचिवले भने, ‘धेरै खेलले खेलाडी छनोट गरिसकेका छन् । अब विशेष प्रशिक्षणको तयारी भईरहेको छ ।’
सदस्य सचिवले साउन १ देखि भदै १ सम्म खेलाडीको क्लोज क्याम्प राख्ने बताए । उनले एसियन गेम्सका लागि ३० करोडको बजेट अर्थमन्त्रालय पुगिसकेको बताए । यस्तै सदस्य सचिव घिसिङले एसियन गेम्समा नेपालले २९ खेलमा सहभागिता जनाउने बताए । ओलम्पिक कमिटिमार्फत आयोजकलाई २९ खेलको नाम पठाईसकेको सदस्य सचिवले जनाए ।
वि.सं.२०८० जेठ १९ शुक्रवार १८:३४



















