दक्षिण कोरियासँग पोर्चुगल पराजित, क्यामरुनसँग ब्राजिल हार्यो
वि.सं.२०७९ मंसिर १७ शनिवार ०७:३०
2K
shares
काठमाडौं: कतारमा जारी फिफा विश्वकप फुटबलमा पोर्चुगललाई २-१ गोलले हराउँदै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ ।
पोर्चुगलविरुद्ध दक्षिण कोरियाले पुनरागमन गर्दै जित निकालेको हो । रोमान्चक खेलमा सुरुआती अग्रता पोर्चुगलले बनाएको थियो । खेलको पाँचौं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको २७ औं मिनेटमा किम योङ जीओनले गोल गर्दै कोरियालाई १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि खेलको इन्जुरी समयमा ह्वाङ हि चानले गोल गर्दै कोरियालाई २-१ को जित दिलाए ।
यस जितसँगै कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । कोरियाले ३ खेलमा ४ अंक जोड्यो । हारको बाबजुत पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ ।
यसैबीच कतारमा जारी फिफा विश्वकप फुटबलमा क्यामरुनसँग १-० ले पराजित भएपनि ब्राजिल समूह विजेताको रुपमा नकआउट चरणमा प्रवेश गरेको छ ।
क्यामरुनलाई जित दिलाउन भिन्सेन्ट अबुबाकरले निर्णायक गोल गरे । उनले खेलको इन्जुरी समयमा गोल गरेका थिए । गोल गरेपछि उनी दुई पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
हारसँगै ब्राजिलले ३ खेलमा ६ अंक जोड्यो । र, ब्राजिल शीर्ष स्थानमा रह्यो । क्यामरुनले ३ खेलमा ४ अंक जोडेको छ । तर, क्यामरुन समूह चरणबाट बाहिरिएको छ ।
वि.सं.२०७९ मंसिर १७ शनिवार ०७:३०



















