पितृ उतार्ने भन्दै अक्षताले हान्दा बृद्धाको मृत्यु
वि.सं.२०७९ असोज ११ मंगलवार ११:०७
9K
shares
रामेछाप: पितृ उतार्ने भन्दै रामेछापको खाँडादेवी गाउँपालिका वडा नं. ३ सित्खामा एक बृद्धालाई अक्षता (चामल) ले हान्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सित्खाकी ५० बर्षकी बिबा माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । घट्नामा मृतक माझीकी ७० बर्षकी आमा सुनमाया माझी गम्भीर घाइते भएका छन् । उनको अहिले मन्थली अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय माझी समुदायका ११ जना भन्दा बढी किसोर किसोरीले पितृ उतार्नका लागि काम्दै बृद्धाहरुलाई ७ बोरा भन्दा बढी चामलको अक्षताले मुख तथा शरीरमा हानेको स्थानीयहरुले बताएका छन् ।
बृद्धा आमाछोरी मात्र बसेको घरभित्र पसेर आइतबार उनीहरुले पितृ उतार्ने भन्दै चामलले निर्घात रुपमा मुख र शरीरमा हानेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक राजकुमार थिनले बताए ।
घरभित्र किशोर किशोरीहरुले अक्षताले बृद्धाहरुलाई हानिरहँदा बाहिर गाउँका ३० भन्दा बढी माझी समुदायका मानिसहरु हेरिरहेका थिए । घट्नामा संलग्न भएको आशंकामा प्रहरीले २३ जनालाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।
सोह्रश्रादमा माझी समुदायले हरेक बर्ष पितृकार्यका रुपमा श्राद गर्ने चलन रहेको छ । यस बर्ष पनि असोज ६ गते देखि ८ गते सम्म पितृ कार्य सकेर पितृलाई विदा गरेर घरघरमा गएका माझी समुदायका केही किशोर किशोरीहरु सोही दिन मध्य राति पितृ उतार्ने भन्दै मृतक बिबाको घरमा प्रवेश गरेको उनका छोरा प्रेम माझीले बताए । उक्त दिन राति काम्दै फर्केका युवाहरु भोलीपल्ट विहान १० बजेतिर फेरी सोहि घरमा पुगेर आफुहरुलाई दु:ख दिएको भन्दै अक्षता (चामल) ले हान्न थालेका थिए ।
करीव डेढ घन्टा चामले हानेपपिछ मृत्यु भएकी बिबा माझीलाई उनीहरुले फेरि ब्युँताउने भन्दै थप आधा घन्टा चामलले हानेको उनका छोरा प्रेम बताउँछन् । गाउँभरि रहेको अक्षता (चामल) सकिएपछि उनीहरुले नजिकैको पसलबाट चामलका बोरा ल्याएर हानेका थिए ।
मृत बिबाको आधा भन्दा बढी शव चामलले पुरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घट्ना शुरु हुने बित्तिक्कै बिबाको घरमा पुगेको सित्खा प्रहरी चौकीका प्रहरीलाई समेत गाउँलेहरुले घरभित्र छिर्न दिएका थिएनन् ।
स्थानीय सुनिता माझीलाई पितृ आएर काम्न थालेपछि घट्नाको शुरुवात भएको स्थानीयहरुले बताए । घट्नामा संलग्न भएकाहरुले आफुहरुलाई पितृ आएकाले केही थाहा नभएको बताएका छन् । प्रहरीले यसलाई गम्भीर अपराधको घट्नाका रुपमा लिएर अनुसन्धान शुरु गरेको जनाएको छ ।
घट्नाका विषयमा थप अनुसन्धानपछि बताउन सकिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । अन्धविश्वासका कारण यस्तो घट्ना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
बृद्धाहरुलाई किशोर किशोरीहरुले काम्दै बोक्सीको आरोप समेत लगाएर अक्षताले हानेका मृतका आफन्तहरुले बताएका छन् ।
वि.सं.२०७९ असोज ११ मंगलवार ११:०७




















