महिला साफ च्याम्पियनसिप आजबाट सुरु, उद्घाटन खेलमा नेपाल र भुटानबीच प्रतिष्पर्धा हुँदै
वि.सं.२०७९ भदौ २१ मंगलवार ०९:२४
5.8K
shares
काठमाडौं: महिला साफ च्याम्पियनसिपको छैटौं संस्करणको उद्घाटन खेलमा आयोजक नेपालले आज दशरथ रंगशालामा भुटानसँग खेल्दैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।
खेल नेपाली समयअनुसार साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ ।
समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । यस्तै समूह ‘बी’ मा आयोजक नेपाल, श्रीलंका र भुटान रहेको छ ।
भुटानविरुद्ध नेपाल नयाँ कप्तान एन्जिला तुम्बाप्पो सुब्बाको कप्तानीमा मैदानमा उत्रदैछ । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।
नियमित कप्तान रेनुका नगरकोटे घाइते भएपछि प्रतियोगिताको एक दिनअघि मात्रै नयाँ कप्तानमा गोलरक्षक एन्जिलालाई घोषणा गरेको हो ।
पाँच संस्करणमध्ये चार पटक फाइनल खेलेको नेपाल चौथो संस्करणमा भारतसँग सेमिफाइनलमा पराजित भएको थियो । सबै चार फाइनलमा पनि नेपाल भारतसँग नै पराजित भएको थियो ।
नेपाली टोली:
एन्जिला तुम्बापो सुब्बा (कप्तान), अन्जना राना मगर, उषा नाथ, हिरा कुमारी भुजेल, अमृता जैसी (उपकप्तान), गीता राना, पुनम जर्घा मगर, निशा थोकर, समिक्षा घिमिरे, विमला विक, विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी, अमिशा कार्की, रेखा कुमारी पौडेल, सावित्रा भण्डारी, रश्मी कुमारी घिसिङ ।
वि.सं.२०७९ भदौ २१ मंगलवार ०९:२४



















