एभरेष्ट बैंकको नाफा ३ अर्ब ८९ करोडभन्दा बढी
वि.सं.२०७९ साउन १२ बिहीवार १७:३८
3.5K
shares
काठमाडौं: गत आर्थिक वर्षको चौथो त्रैमाससम्म एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँभन्दा बढी रहेको छ ।
बैंकले सार्वजनिक गरेको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफाभन्दा वितरणयोग्य नाफा बढी देखिएको हो ।
बैंकले गत चौथो त्रैमाससम्म २ अर्ब ५४ करोड ६० लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४३.७७ प्रतिशत बढी भएको हो ।
अघिल्लो वर्ष सो अवधिसम्म बैंकले १ अर्ब ७७ करोड ९ लाख रूपैयाँ भन्दा बढी खुद नाफा गरेको थियो ।
गत वर्ष बैंकको सञ्चालन नाफा ४२.८२ प्रतिशत बढेको छ । अघिल्लो वर्ष २ अर्ब ५४ करोड ८४ लाख रूपैयाँ रहेको सञ्चालन नाफा गत वर्ष ३ अर्ब ६३ करोड ९६ लाख रूपैयाँभन्दा बढी भएको हो । ५.९७ प्रतिशत बोनस शेयर वितरण गरी बैंकको चुक्तापूँजी ९ अर्ब ४६ करोड ७३ लाख ४० हजार रूपैयाँ कायम भएको छ ।
बैंकको शेयर प्रिमियममा २३ करोड ८४ लाख रूपैयाँ र रिटेन्ड अर्निग ३ अर्ब ८९ करोड ५४ लाख रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग अघिल्लो वर्षको तुलनामा गत वर्ष करिब ६५ प्रतिशत बृद्धि भएको हो ।
जगेडा कोष रकम भने ०.५९ प्रतिशत कम ९ अर्ब ९ करोड २९ लाख रूपैयाँ रहेको छ ।
बैंकले अघिल्लो वर्षभन्दा ७.८१ प्रतिशत बढी १ खर्ब ७२ अर्ब ७३ करोड ९१ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ भने १३.९३ प्रतिशत बढी १ खर्ब ४५ अर्ब ४७ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
अघिल्लो वर्ष ०.१२ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ०.२४ प्रतिशत पुगेको छ । चौथो त्रैमाससम्म बैंकको प्रतिशेयर आम्दानी २७ रूपैयाँ एक पैसा र प्रतिशेयर नेटवर्थ २४० रूपैयाँ ७३ पैसा छ ।
वि.सं.२०७९ साउन १२ बिहीवार १७:३८



















