वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्दै प्राइम बैंक
वि.सं.२०७८ चैत १६ बुधवार १५:१५
2.4K
shares
काठमाडौं: प्राइम कमर्शियल बैंक लिमिटेडले आजदेखि वार्षिक १० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्ने भएको छ ।
बैंकले ‘१० प्रतिशत प्राइम डिबेन्चर २०८८’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो। सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो ।
सोमध्ये १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ ।
सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
ऋणपत्र खरिदका लागि छिटोमा चैत २१ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ३० गतेसम्म लम्बिनेछ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले बैंकलाई कम कर्जा जोखिम जनाउने ‘केयर एनपी डबल ए माइनस इस्यूअर रेटिङ्ग’ प्रदान गरेको छ ।
सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ ।
वि.सं.२०७८ चैत १६ बुधवार १५:१५



















