निर्देशक सुदर्शन थापा प्रहरी नियन्त्रणमा
वि.सं.२०७८ फागुन १४ शनिवार १५:५९
3.2K
shares
काठमाडौं: ‘म यस्तो गीत गाउँछु २’ का निर्देशक तथा निर्माता सुदर्शन थापालाई महानगरीय प्रहरी वृत्त (बानेश्वर)ले पक्राउ गरेको छ ।
नाबालिग बलात्कार आरोपमा प्रहरीमा उजुरी परेपछि फरार रहेको अभिनेता पल शाहले अभिनय गरेको उक्त फिल्मका निर्देशक थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नाबालिग बलात्कार अभियोगमा अभिनेता शाहविरुद्ध बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएको छ । त्यसलगत्तै उनी फरार भएका हुन् ।
चार दिनदेखि पल शाहलाई पक्राउ गर्न खोजिरहे पनि उनी नभेटेपछि प्रहरीले उनका निकटका व्यक्तिहरुसँग सोधखोज गरिरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।
‘पल शाहको बारेमा उहाँलाई केही जानकारी छ कि भनेर सोधखोजका लागि बोलाइएको हो । उहाँलाई जानकारी छ भन्ने सूचना आएको थियो त्यही भएर के जानकारी छ त भनेर सोध्नलाई हो’, एसएसपी गिरीले भने, ‘म्याद थप गर्न र मुद्दा चलाउने उद्देश्यले होइन । पछिल्लो समय उहाँको पल शाहसँग बढी सम्पर्क देखिएको छ ।’
थापालाई मुद्दाका विषयमा भन्दा पनि पल शाहको बारेमा सूचना लिएर पक्राउमा सहयोग पुग्छ कि भन्ने हिसाबले बोलाइएको एसएसपी गिरीले बताए ।
प्रहरीले पल शाहसँग सम्पर्क देखिएका अन्य व्यक्तिलाई पनि सोधिखोजी गरिरहेको छ ।
पल शाह र पूजा शर्मा अभिनित तथा थापाको निर्देशनमा निर्मित ‘म यस्तो गीत गाउँछु २’ फिल्म हिजो शुक्रबार मात्र देशभरका हलमा प्रदर्शन सुरु गरिएको छ ।
वि.सं.२०७८ फागुन १४ शनिवार १५:५९




















