मुख्यमन्त्री बनेको एक हप्तामै शाक्यको पद धरापमा
वि.सं.२०७८ भदौ १० बिहीवार १५:०४
2.1K
shares
हेटौंडा : मुख्यमन्त्री भएको एक हप्तामै बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको पद धरापमा परेको छ ।
पार्टी बिवादसँगै विभाजन भएपछि अहिले माधव कुमार नेपालको नयाँ नेकपा एकीकृत समाजवादीमा एक प्रदेशसभा सदस्यले गएपछि मुख्यमन्त्री शाक्यको पद धरापमा पर्न गएको हो ।
लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएकी शाक्य केपी ओली नेतृत्वको एमालेबाट मुख्यमन्त्री बनेकी हुन ।
मुख्यमन्त्रीको शपथ खानेबितिक्कै दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्दा आफ्नो विश्वासको पात्रको रुपमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको कृष्णप्रसाद खनालले माधव नेपालको नयाँ दलको सनाखतमा हस्ताक्षर गरेसँगै अष्टलक्ष्मी नेतृत्वको सरकार अल्पमतमा परेको हो।
भदौ २ गते राति मुख्यमन्त्रीको शपथपश्चात् शाक्यले दुईजनालाई प्रदेशको मन्त्री नियुक्त गरिन्।
जसमा एक केशव पाण्डे थिए, जो डोरमणि पौडेल नेतृत्वको सरकारमासमेत मन्त्री रहेका ओलीनिकटका हुन् भने अर्को एक नेपालनिकटका खनाल।
आफू नेपालनिकट हुँदा सँगै रहेका खनाललाई शाक्यले पहिलो महिला मुख्यमन्त्री बन्दा आफूले रोजेर पहिलो मन्त्री बनाइन्। तर यता प्रदेशको मन्त्री भएकै दिन नेता नेपालले दर्ता गरेको नयाँ दलको केन्द्रीय सदस्यमा खनालको नाम आयो।
खनालको सहमतीबिना नै नेता नेपाल पक्षले नयाँ दलमा खनालको नाम राखेको भन्दै एमालेको नेताहरुले प्रदेशको मन्त्री बनिसकेका खनाल एमालेमै रहेको दाबी गरेको थियो।
तर, बुधबार निर्वाचन आयोग पुगेर खनालले नेपालको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रियाका लागि निर्वाचन आयोग पुगेर केन्द्रीय सदस्यको सूचीको ५२ नम्बरमा सनाखत गरेसँगै उनले एमाले छाडेको पुष्टि भएको हो।
यसरी खनालले एमाले नेतृत्वको सरकारमै रहेर एमालेबाट फुटेर बनेको नयाँ दललाई रोजेसँगै अष्टलक्ष्मी नेतृत्वको सरकार धरापमा परेको छ।
यसअघि नै एमालेबाट निर्वाचित बागमती प्रदेशको अर्का सांसद राजेन्द्र पाण्डे पनि नेता नेपालको नयाँ दलतर्फ लागिसकेका छन्।
पाण्डे नयाँ दल दर्ता गर्न नेता नेपालसँग निर्वाचन आयोगदेखि विभिन्न स्थानमा पनि देखिएका छन्।
हालसम्म बागमती प्रदेशको एमालेको ५६ सांसदबाट पाण्डे र खनाल दुईजनाले औपचारिक रुपमा नै एमाले छोडेर नयाँ दल रोजिसकेका छन् भने अरू ८ जना सांसद आफ्नो दलमा रहेको नेकपा ९एकीकृत समाजवादी०को दाबी छ।
११० प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा एक जना सदस्यको मृत्यु भएपछि हाल १०९ सदस्य रहेका छन्। सरकार गठनको लागि ५६ जना सांसद आवश्यक पर्छ।
हालसम्म सभामुखसहित ५६ जना सांसद रहेको एमालेले एकल बहुमतको सरकार चलाउँदै आएको थियो।
तर, औपचारिक रूपमा एमाले फुटेर दुई दलमा विभाजन भएसँगै एमालेले बहुममत गुमाउने निश्चित भएको छ।
५६ सांसदबाट खनाल र पाण्डेले नयाँ दल रोजेसँगै एमालेको सांसद संख्या ५४ मात्रै रहेको छ। ५६ सांसदबाट ५४ मा झरेसँगै एमालेले एकल बहुमत गुमाएको छ।
अल्पमतमा परेकी शाक्यले अब प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ।
विश्वासको मत पाए शाक्य नेतृत्वको सरकारले निरन्तरता पाउनेछ भने मत पाउन नसके नयाँ सरकार गठनको बाटो खुल्नेछ।
याे पनि पढ्नु हाेस्:
कांग्रेस जिल्ला सभापतिहरूले दिए पार्टी कार्यालयमा धर्ना, माग पूरा नभए निरन्तर धर्ना जारी रहने चेतावनी
वि.सं.२०७८ भदौ १० बिहीवार १५:०४




















