सरकारलाई पूर्णता दिनका लागि गठबन्धनको बैठक बस्दै
आफ्नै दल र गठबन्धनमा आवद्ध दलले मन्त्री छान्न नसकेपछि पूर्णता पाउन सकेन
वि.सं.२०७८ साउन १७ आइतवार १५:०७
2.4K
shares
काठमाडौं: प्रधानमन्त्रीमा नियुक्त भएको तीन साता बित्दा समेत शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता दिन सकेको छैन ।
२९ गते आफूसँगै कांग्रेसबाट दुई र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित पाँच सदस्यीय मन्त्रिपरिषद् बिस्तार गरेका देउवाले गत आइतबार कांग्रेस सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएपनि पूर्णमन्त्रीमण्डलका लागि भने बिस्तार गर्न सकेका छैनन ।
चार दलीय गठबन्धन र एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहको समर्थनमा प्रधानमन्त्री बनेका देउवाले विश्वासको मतपाएपनि मन्त्री टुङ्ग्याउन सकस परेको छ ।
यसो त मन्त्री टुङ्ग्याउने विषयमा देउवालाई जति सकस छ त्यति नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई समेत सकस परेको छ ।
साउन १० गते अध्यक्ष प्रचण्डले पेरिसडाँडामा सम्बोधनका क्रममा आफू तनाबमा रहेको र पार्टीका ४९ जना नै मन्त्री बन्ने आकांक्षी भएकाले आफू अफ्टेरोमा परेको बताएका छन् ।
कांग्रेस संस्थापन इतरका रामचन्द्र पौडेल पक्षले उपप्रधानसहित महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउनुपर्ने अडान राख्दै आएको छ ।
नेता कृष्णप्रसाद सिटौला पनि आफ्नो भागको मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएका छन् । तर यो विषयमा सहमति भने जुट्न सकेको छैन ।
माधव नेपाल समूहले यस अघि नै आफू तत्काल सरकारमा सहभागी नहुने र पार्टी एकतालाई जोड दिने बताएपनि पार्टीभित्रको तीब्र असन्तुष्टिका कारण नेपाल पक्षीय सांसद मेटमणि चौधरीले राजधानीमा भएको एक साक्षात्कार कार्यक्रममा बोल्दै आफूहरु ६ वटा मन्त्रालय लिएर देउवा सरकारमा जाने र नयाँ पार्टी खोल्नसक्ने कुरा स्पष्ट पारिसकेका छन् ।
यसरी गठबन्धनमा सहभागी माधव समूह पनि सरकारमा आउने भएमा भागबण्डा अझ जटिल बन्नेछ । अहिले कांग्रेसले ८ तथा माओवादी र जसपाले ७–७ मन्त्रालय लिने सहमति बनेको छ ।
यता जसपाको आधिकारीकता उपेन्द्र यादव समूहले पाएपछि शनिवार बसेको संसदीयदलको बैठकले यादवलाई नै संसदीयदलको नेता चयन गरेको छ ।
केही समय अघि नै जसपाले डा. बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएपनि सार्थकता पाउन सकेको छैन ।
वि.सं.२०७८ साउन १७ आइतवार १५:०७



















