हराएकी प्रदेशसभा सदस्य विमला उपचाररत
वि.सं.२०७८ साउन १६ शनिवार ११:२४
2.6K
shares
काठमाडौं: हराएकी भनेकी दाङ ३ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य विमला कुमारी खत्री (ओली) बिरामी भई उपचाररत रहेको समाचार बाहिर आएको छ ।
माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले प्रदेशसभा सदस्य ओली पार्टीको सम्पर्कमा नभएपनि पारिवारिक श्रोतले उनी उपचाररत रहेको जानकारी दिएको छ ।
केही संचारमाध्यमले ओली हराएको समाचार बनाएपछि ओलीको विषयमा सोधखोज बढी हुन थालेको थियो ।
आफ्नो पार्टीसँग सम्पर्कमा नरहेको जानकारी दिदै प्रमुख सचेतक घर्तीमगरले भने ‘हामीले निरन्तर फोन गरेका छौं । उहाँले चलाउने एउटा मोबाइल अफ छ । एउटामा घण्टी जान्छ तर उठ्दैन’, घर्तीमगरले भने ।
तर परिवारसँग सम्पर्क गर्दा उनी उपचाररत रहेको कुरा बाहिर आएको पनि घर्ती मगरले जानकारी दिए ।
एमालेबाट निर्वाचित पति उत्तरकुमार ओलीको मृत्यु भएपछि उनी उपनिर्वाचनमार्फत चुनिएकी हुन् । तत्कालीन नेकपाबाट जितेकी उनले पार्टी विभाजनपछि भने माओवादी केन्द्र रोजेकी थिइन् ।
यद्यपि एमालेले सूर्य चिन्हबाट लडेको सांसद भन्दै उनलाई सत्ता पक्षमा कुर्सी राख्न प्रदेश सभालाई पत्राचार गरेको थियो ।
वि.सं.२०७८ साउन १६ शनिवार ११:२४



















