भीमफेदी–कुलेखानी सडकखण्ड सञ्चालनमा रोक लगाइयो
वि.सं.२०७८ वैशाख १० शुक्रवार ११:३३
2.4K
shares
काठमाडौं: भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिस्नेरी–दक्षिणकाली–काठमाडौं जोड्ने सडक आज बिहानदेखि सञ्चालनमा रोक लगाइएको छ । काठमाडौं – हेटौंडातर्फको यातायात सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले जनाएको हो ।
मदन भण्डारी राजमार्गअन्तर्गत रहेको सिस्नेरी सडकखण्डको काठमाडौंको छैमलेबाट मकवानपुरको हेबीसम्म निर्माणाधीन सडकमा अहिले कालोपत्र गर्नुपरेका कारण काठमाडौं–हेटौंडातर्फ दैनिक यातायात सेवालाई आजदेखि आगामी जेठ २५ गतेसम्म सञ्चालनमा रोक लगाइएको वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ ।
आज बिहानदेखि भीमफेदी–कुलेखानी हुंदै काठमाडौं जाने यातायत अवरुद्ध हुंदा त्रिभुवन राजपथबाट हेटौंडा– काठमाडौंतर्फको हलुका यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
निजी कार, जिप र मोटरसाइकललाई मात्र कान्तिराजपथ हुंदै काठमाडौंतर्फ जाने रुटलाई अनुमति दिइएको र आज बिहानैदेखि ती क्षेत्रबाट सामान्य यातायात काठमाडौंतर्फ प्रस्थान गरेको जनाएको छ ।
भीमफेदी–कुलेखानी सडकखण्डको फाखेल सडकको ढल निर्माण, सडकमा कालोपत्र गर्ने क्रममा केही हप्ताअघिदेखि फाखेल सडकखण्डबाट काठमाडौँतर्फको यातायात सेवालाई एक महिनासम्मका लागि रोक लगाइएको थियो ।
वाग्मती प्रदेश, भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले भीमफेदीबाट चिसापानीगढी र हेबीसम्मको सडक विस्तार र कालोपत्र गर्न दुई चरणमा गरी रु ३४ करोड रकम विनियोजित गरिएको सो मन्त्रालयले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
मेगा बैंक नेपाल र सांग्रिला एग्रो प्राइभेट लिमिटेडबिच सम्झौता
वि.सं.२०७८ वैशाख १० शुक्रवार ११:३३



















