स्याङ्जामा यस वर्ष धान उत्पादनमा वृद्धि
वि.सं.२०७७ पुस २ बिहीवार १६:०७
2K
shares
काठमाडौं: स्याङ्जामा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आव २०७७/७८ मा एक हजार ७७४ मेट्रिक टन धान बढी उत्पादन भएको हो ।
गत वर्ष १८ हजार १२० हेक्टर क्षेत्रफलमा ६५ हजार ३३२ मेट्रिक टन धान उत्पादन भएकामा यस वर्ष १८ हजार १३७ हेक्टर क्षेत्रफलमा ६७ हजार १०६ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ ।
गत वर्षको तुलनामा यस वर्ष धानखेतीको क्षेत्रफल बढ्नुका साथै आधुनिक यन्त्र उपकरणको प्रयोग, उन्नत बीउको प्रयोग, मौसम अनुकूल हुनु र बन्दाबन्दीका कारण जनशक्ति पर्याप्त हुनु र समयमै रोपाइँ शुरु भई समयमै सकिएकाले पनि उत्पादनमा वृद्धि भएको जनाइएको छ ।
यस वर्ष जिल्लाका चापाकोट टार, जिमुहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेवाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धानखेतीका लागि पकेट क्षेत्र हुन् ।
स्याङ्जामा विशेषगरी रामधान, सावित्री, खुमल–४, ११, १३, सुनौलो सुगन्ध, राधा–४ लगायतका उन्नत धान र स्थानीय जातहरुमा पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले जर्नेली, अनदी, बाटीसरा, झिनुवालगायतका धान लगाउने गरिएको केन्द्रले जनाएको छ ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ पुस २ बिहीवार १६:०७




















