धार्मिक तथा पर्यटकीय महत्व बोकेको दुप्चेश्वर महादेव मन्दिर
वि.सं.२०७७ मंसिर ११ बिहीवार १८:०१
10.8K
shares
काठमाडौं: दुप्चेश्वर महादेव मन्दिर पौराणिक कथा अनुसार परापूर्व कालमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका अन्तर्गत पर्ने करेजुङ्ग बस्ने वासु तामाङ(वासे)को गोगन चौरमा रहेको गाईहरू गोठबाट हराएछन । बासुले आसपासका सबै जंगलमा खोज्दापनि गाईहरू भेटिएनन र थकित भएर गोठमा आएर सुते। राति सपनामा जोगीले निज बासु तामाङलाई तिम्रा गाई हराएका छैनन यही पहरामा छन भनेर मन्दिर भएको पहरो देखाइ दिए ।
भोलिपल्ट त्यस ठाउँमागएर हेर्दा लहराले छोपिएको विकट ढुङ्गे पहराको शिलाखण्डमा रहेको अर्घौतो आकारको शीवलिङ्गमाथि चारै वटा थुनबाट दुध झारिरहेको अवस्थामा गाईहरू भेटिएछन । यस्तो विकट पहरामा गाईहरू गएर दुध चढाएको घटना देखेपछि त्यस अर्घौतो आकारको शीवलिङ्गलाई दुप्चेश्वर नामाकरण गरी पुजा आजा गरी बार्षिक रुपमा मेला चलाउने गरिएको हो ।
यही मन्दिरको नामबाट ७ वटा वडाहरु मिलाएर दुप्चेश्वर गाउँपालिका घोषणा गरिएको छ । मन्दिर हालको वडा नं ६ मा पर्दछ । दुप्चेश्वर गाँउपालिका पर्यटकीय स्थलको रुपमा प्रख्यात रहेको छ । गोसाइकुन्ड जाने पदमार्ग यहि गाउँपालिकामा पर्दछ ।
दुप्चेश्वर महादेव मन्दिरमा हरेक वर्ष पुष महिनामा पर्ने धान्य पूर्णिमाका अवसरमा साताव्यापी मेला सञ्चालन गरिन्छ । यस बाहेक शिवरात्री, साउन महिना तथा हरेक सोमवार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ । यस अवधिमा देशभरबाट भक्तजनहरू दर्शन गर्न आउने गर्दछन ।
दुप्चेश्वर महादेवको दर्शन गर्नाले मनले चिताएको पुग्ने, सन्तान प्राप्ती हुने, लामो समयसम्म बोली नफुटेका बालवच्चाको बोली फुट्ने विश्वासमा मानिसहरू भाकल गर्ने र भाकल पुरा भएपछि महादेवको दर्शनका लागि यहाँ आउने गर्दछन् ।महादेवको दर्शन पश्चात दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वासका साथ निसन्तान दम्पतिको भीड लाग्ने गरेको पाइन्छ .
मन्दिरमा गल्छी त्रिशुली सडकखण्ड अन्तर्गत पर्ने गङ्गटेबाट ढिकुरे, खरानीटार, सातविसे, रामति हुँदै पुग्न सकिन्छ । यसबाहेक काठमाण्डौबाट टोखा छहरे, चौघडा, खरानीटार सातविसे, रामति हुँदै पुग्न सकिन्छ । रामतिबाट मन्दिरमा जानको लागि झोलुङ्गे पुल निर्माण गरिएको छ । वर्षायाम बाहेकका समयमा काठमाण्डौदेखि शिखरबेसीसम्म बस तथा जीप सेवा सञ्चालनमा आउने गर्दछ । ताँदी नदीबाट बनाईएको घुमाउरो छिडी हुँदै पालैपालो भक्तजनहरु पूजा र दर्शनका लागी उक्लने गर्दछन ।
यो पनि पढ्नुहोस् :
वि.सं.२०७७ मंसिर ११ बिहीवार १८:०१




















