लकडाउनको मोडालिटीलाई अन्तिम रुप दिन उच्चस्तरीय समितिको प्रस्ताव आज मन्त्रिपरिषदमा पठाउँदै
वि.सं.२०७७ जेठ २५ आइतवार १२:३२
1.2K
shares
काठमाडौं: उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर आज मन्त्रिपरिषदमा पठाउँदैछ । लकडाउनको मोडालिटीलाई अन्तिम रुप दिन आजै साँझसम्म मन्त्रिपरिषद बैठक बस्न सक्ने स्रोतले जनाएको छ ।
जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने मोडालिटीलाई अन्तिम रुप दिन लागेको हो ।
जेठ २२ गते पनि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो । तर, सो बैठकमा उच्चस्तरीय समितिले लकडाउनको मोडल प्रस्तुत गर्न सकेन । सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकिरहेकै बेला काठमाडौं लगायत विभिन्न सहरमा जनस्तरबाटै लकडाउनलाई खुकुलो बनाउने क्रम सुरु भइसकेको छ । आइतबार पनि काठमाडौंमा लगायतका सहरमा अधिकांश पसलहरु खुलेका छन् भने सडकमा सवारी साधन चलिरहेका छन् ।
यसैबीचमा उच्च स्तरीय समितिले जेठ २५ बाटै लकडाउन खुकुलो पार्ने, सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लामा आन्तरिक सवारी साधन चलाउने, असार १ देखि आन्तरिक हवाइ उडान सञ्चालन गर्ने र लामो दुरीका यातायात चलाउने लगायतको प्रस्ताव तयार पारेको थियो । असार १७ गतेदेखि शैक्षिक संस्थाहरु खोल्ने उच्चस्तरीय समितिले प्रस्ताव तयार पारेको थियो । तर, आज जेठ २५ गते भइसक्दा पनि यो प्रस्ताव कार्यान्वयनमा आउन सकेन ।
वि.सं.२०७७ जेठ २५ आइतवार १२:३२




















