प्रहरी वरिष्ठ उपरीक्षकहरुको नायव महानिरीक्षकमा बढुवा भएसँगै काठमाडौं प्रहरी र अपराध महाशाखा प्रमुख विहीन
वि.सं.२०७७ वैशाख ९ मंगलवार १०:३८
1.5K
shares
काठमाडौं: नेपाल प्रहरीका १० जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएपी)हरुको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएसँगै अहिले काठमाडौं प्रहरी प्रमुख विहीन बनेको छ । यस्तै, काठमाडौं उपत्यकामा हुने अपराधिक घटनाको अनुसन्धान गर्ने निकाय महानगरीय अपराध महाशाखा पनि नेतृत्व विहीन बनेको छ ।
अपराध महाशाखाको प्रमुख रहेका सहकुल बहादुर तथा काठमाडौं परिसरको प्रमुख रहेका उत्तमराज सुवेदी एसएसपीबाट डीआईजीमा बढुवा भइसकेका छन् । प्रहरी महानिरीक्षकले उनीहरुलाई दर्ज्यानी चिह्न समेत वितरण गरी गृह मन्त्रालयले कार्यक्षेत्र समेत तोकिसकेको छ ।
गृहमन्त्री रामबहादुर थापाको व्यवस्तताका कारण काठमाडौं परिसर र अपराध महाशाखाको प्रमुखमा हुनुपर्ने सरुवा भएको छैन । राजपत्रांकित प्रथम श्रेणी सरहको एसएसपीको सरुवा गर्ने निर्णय विभागीय मन्त्रीले गर्नुपर्ने हुन्छ । गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेर काठमाडौं परिसर र अपराध महाशाखा प्रमुख खटाउनु पर्ने हो । तर, गृहमन्त्री थापाको बढ्दो व्यवस्तताका कारण सरुवामा केही ढिलाइ हुन पुगेको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार परिसर र महाशाखाको प्रमुखमा सरुवाका लागि प्रस्ताव तयार भएर गृह मन्त्रालय पेश भइसकेको छ । उक्त प्रस्ताव सोमबार नै गृहमन्त्री थापाको सचिवालयमा पुगिसकेको छ । तर, सोमबार बसेको मन्त्रिपरिषद बैठक र त्यसपछि बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकका कारण गृहमन्त्री थापाले निर्णयमा हस्ताक्षर गर्न पाएका छैनन् ।
गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसरको प्रमुखका रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीलाई सरुवा गर्न प्रास्ताव गरेको छ । यस्तै, अपराध महाशाखाको प्रमुखमा एसएसपी दीपक थापालाई सरुवा गर्न प्रस्ताव गरिएको छ ।
वि.सं.२०७७ वैशाख ९ मंगलवार १०:३८



















