कोरोना भाइरस रोकथामका लागि एक हजार बेडको आइसोलेसन वार्ड बनाउने सरकारको निर्णय
वि.सं.२०७६ चैत ४ मंगलवार ०९:२४
1K
shares
काठमाडौं: कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले राजधानीमा १ सय २० वटा सघन उपचार कक्ष (आईसीसीयू) र एक हजार बेडसम्मको आइसोलेसन कक्ष तत्काल निर्माण गर्ने भएको छ ।
कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले प्रदेश स्तरीय अस्पतालमा समेत एकसय सघन उपचार कक्षको व्यवस्था गर्ने निर्णय गरेको छ । सोको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन समेत दिइएको छ । उच्चस्तरीय संयन्त्रको संयोजकसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले टेकु अस्पताल, आयुर्वेद अस्पताल कीर्तिपुर, नेपाली सेनाको अस्पताल, सशस्त्र प्रहरीको अस्पताल, वीरअस्पताल र पाटन अस्पतालमा २०/२० वटा सघन उपचार कक्ष थप्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीको कार्यालयका सचिव एवं उच्चस्तरीय संयन्त्रका सदस्य सचिव नारायणप्रसाद बिडारीका अनुसार भक्तपुरको खरिपाटीस्थित विद्युत् प्राधिकरणको तालिम केन्द्रमा २ सय २० बेड र खाने पानीको तालिम केन्द्रमा ६० बेडको आइसोलेसन वार्ड बनाउने निर्णय गरिएको छ । उनका अनुसार आयुर्वेद अस्पताल कीर्तिपुरमा दुई सय, टेकु अस्पतालमा एक सय, पाटन अस्पतालमा ७०, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका अस्पतालहरूमा एकसय र इचङ्गुनारायणस्थित सैनिक ब्यारेकमा २ सय ५० बेडका आइसोलेसन वार्ड बनाउने निर्णय बैठकले गरेको छ ।
वि.सं.२०७६ चैत ४ मंगलवार ०९:२४



















