भ्रष्टाचार देश विकासको बाधक, निवारणका उपायहरु
वि.सं.२०७६ पुस १८ शुक्रवार १२:५७
2.8K
sharesसार्वजानिक जीवनमा स्वीकृत मूल्य र मान्यताको विरुद्ध हुने सबै प्रकारका आचरणलाई भ्रष्टाचार भनिन्छ । ‘भ्रष्ट’ र ‘आचार’ दुई शब्दका मेलबाट ‘भ्रष्टाचार’ शब्द निर्माण भएको छ । जुन शब्दले आचार नभएको वा स्थापित मूल्य र मान्यता विपरीत नैतिक मूल्य ह्रास हुने बानी व्यवहारलाई जनाउँछ । जुन सामाजिक व्यवहारमा निन्दनीय र कानुनी हिसावमा दण्डनीय हुन्छ ।
कुनैपनि व्यक्तिले आफ्नो कर्तव्य विपरीत गर्ने सबै किसिमका गैरकानुनी र अनैतिक क्रियाकलापलाई भ्रष्टाचार भनिन्छ । कुनैपनि सर्वजानिक पदमा हरेका पदाधिकारीहरुले आफूमा रहेका हक हित र अधिकारको दुरुपयोग गरी गरिने सबै क्रियाकलापहरु भ्रष्टाचार हुन् । यसरी हेर्दा व्यक्तिले आफ्नो पद, अधिकार र हैसियतको दुरुपयोग गरी सार्वजनिक तथा व्यक्तिगत रुपमा गरिने सबै प्रकारका गतिविधि र क्रियाकलापहरु, भ्रष्टाचार हुन । जुन समाजको आँखामा निन्दनीय कानुनका आँखामा दण्डनीय हुन्छ ।
सुशासन भनेको राज्यमा हरेक काम छिटो, छरितो र समयमै पूरा गर्नु हो । साधारणतया सुशासनको अर्थ असल शासन ‘गुड गभर्नन्स’ हो । सुशासनलाई लोकतन्त्रको पर्यायको रुपमा लिइन्छ । सुशासन जनमुखी शासन पद्दति हो । सार्वजनिक प्रशासन तथा सेवा र अन्य जुनसुकै काममा पनि नियमविपरीत चल्नु सुशासनको मर्मभित्र पर्दैन । अहिले हाम्रो देशमा भ्रष्टाचारको अतिवृद्धि भइरहेको छ ।
मौखिक रुपमा हामीले जतिसुकै गणतान्त्रिक संविधान निर्माण गरी कानुनी राज्यको स्थापना गरेको भने पनि मुलुक चारैतिरबाट भ्रष्टाचारको कारण लथालिंग भएको छ । यसले राज्यको सेवा प्रवाहमा नकरात्मक असर परेको छ । राज्यप्रति जनताको भरोसा कमजोर बन्दै गएको छ । यहाँ व्यक्तिभन्दा कानुन बलियो हुनु पर्ने ठाउँमा व्यक्ति शक्तिशाली भएको छ । सुशासनको अभाव छ । जतिसुकै राम्रा नीति नियम बनेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयनको अभावका कारण भ्रष्टाचार झनझन वृद्धि भइरहेको छ ।
सुशासन कायम गरी समाज भ्रष्टाचारमुक्त हुन नसक्नुको प्रमुख कारण दण्डहिनता र राजनीतिक अराजकता पनि हो । देशमा दण्डहिनता व्यापक मौलाएको छ । राजनीतिक दादागिरी र भ्रष्टाचारीलाई राजनीतिक संरक्षणले भ्रष्टाचारलाई गति प्रदान गरेको छ । देश विकासका लागि विनियोजित विभिन्न बजेट आफ्नो निहित स्वार्थपूर्ति र क्षणिक लोकप्रियताको लागि रानीतिक भागवन्डा गरेर पहुँचवाला व्यक्तिहरुले आफ्नो स्वार्थ हेरेर दुरुपयोग गरिरहेको छन । यस्तै किसिमका विभिन्न रुपका भ्रष्टाचारका कारण गरिब, निमुखा र सोझा जनताहरु सधै ठगिएका छन ।
नेपालमा भ्रष्टाचारको अवस्था
नेपालमा भ्रष्टाचार एक डरलाग्दो रोगको रुपमा देखा परेको छ । समयमै यसलाई नियन्त्रण नगर्ने हो भने देशलाई उन्नतिको मार्गबाट पछाडि धकेल्छ । भ्रष्टाचार नियन्त्रणका लागि पहिला त प्रत्येक व्यक्ति सचेत र जागरुक हुन आवश्यक छ । व्यक्तिमा सचेतना बृद्धि हुँदा भ्रष्टाचारको कमी ल्याउन सकिन्छ । यस्तै व्यक्तिको नैतिक आचारणमा पनि सुधार ल्याउनुपर्छ ।
भ्रष्टाचार नियन्त्रण र निवारणको लागि विभिन्न प्रयासहरु भएका छन् । यसैको लागि भ्रष्टाचार निवारण ऐन २०५९, लागू भई कार्यान्वयनमा छ । आख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सर्तकता केन्द्र, राजस्व अनुसन्धान विभाग लगायत विभिन्न सरकारी गैरसरकारी संघ संस्थाहरु भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कार्यरत छन, तर पनि अपेक्षाकृत उपलब्धि हासिल हुन सकेको छैन । नेपालको संविधान २०७२ कार्यन्वयन गर्दै २०७४ मा स्थानीय तह प्रदेश तथा संघीय तहको निर्वाचन भयो । पूर्ण वहुमतसहितको सरकार सबै तहमा बनेको छ ।
वर्तमान सरकार भ्रष्टाचारी विरुद्ध निर्मम र कठोर रुपमा उभिएको आभास हुन थालेको छ । जसले आगामी दिनमा भ्रष्टाचारको न्यूनीकरण हुने अपेक्षा गर्न सकिन्छ । यो विभिन्न प्रयास हुँदाहुँदै पनि भ्रष्टाचारमा उल्लेख्य सुधार र नियन्त्रण गर्न नसकिएको विभिनन प्रतिवेदनहरुले देखाएका छन् । भ्रष्टाचार सम्बन्धमा अध्ययन गरिरहेको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलको सन् २०१८ को प्रतिवेदन अनुसार नेपालमा भ्रष्टाचार नियन्त्रणको अवस्था खस्कँदो देखिन्छ । यो राष्ट्रको सर्वाङ्गीण विकासमा नकरात्मक संकेत हो ।
नेपालमा विगतका वर्षहरुको तुलनामा भ्रष्टाचारको अवस्थामा सुधार नआएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले देखाएको छ । भ्रष्टाचार नियन्त्रणका प्रयासहरु धेरै मुलुकहरुमा सुस्त गतिमा चलेको पनि देखाएको छ । नेपाल गतवर्षहरुमा जस्तै सन् २०१८ मा पनि ३१ अंक प्राप्त गरी १२४ औं स्थानमा छ । गत वर्ष नेपाल १२२ औं स्थानमा थियो । अंकको आधारमा हेर्दा नेपाल यस वर्ष २ स्थान तल झर्न पुगको हो । सवै भन्दा कम १० अंक पाएर सोमालिया अति भ्रष्टाचार हुने पहिलो मुलुकमा छ भने ८८ अंक प्राप्त गरी कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क पहिलो स्थानमा छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले गत वर्षहरुमा जारी गरेको तथ्यांक अनुसार अर्को लज्जास्पद र डरलाग्दो विषय के हो भने नेपालमा राजनीतिक भ्रष्टाचार बढी हुने गरको छ । अर्थात् राजनीतिक नेतृत्व वा नेतृत्व तहबाटै बढी भ्रष्टाचार हुने गरेको तथ्य सार्वजनिक भएको छ । त्यस्तो भ्रष्टाचारमा पोलेसी कोरप्सन अर्थात नीतिगत भ्रष्टाचार हुने गरेको देखाएको छ । विभिन्न तह र क्षेत्रमा सेटिङ मिलाएर नीतिगत वा वैधानिक भ्रष्टाचार हुने गर्छ । यो समृद्ध राष्ट्र निर्माणका लागि डरलाग्दो पक्ष हो । राजनीतिक भ्रष्टाचारपछि सैबैभन्दा भ्रष्ट हुने क्षेत्र निजामती सेवा देखिएको छ । कर्मचारीमा पनि भ्रष्ट मानसिकता व्यापक छ र उनीहरुले नै राजनीतिक नेतृत्वलाई नीतिगत भ्रष्टाचारमा प्रेरित गराईरहेका छन् । त्यस्तै नेपालका कुनै पनि क्षेत्र नहोलान भ्रष्टाचारले नछोएको । राजनीतिक, कर्मचारी, प्रशासन, शिक्षा स्वास्थ्य, कृषि आदि सवै क्षेत्र भ्रष्टाचारबाट अछुतो रहन सकेको छैन ।
संविधान जारी भएपछि २०७४ मा संघीय प्रणाली अनुसार स्थानीय, प्रदेश र संघ तिनै तहको निर्वाचन भयो लामो समय जनप्रतिनिधिबिहिन रहेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु आए । ठूलो परिवर्तन पछिको नयाँ पद्धतिप्रति सबैको ठूलो अपेक्षा थियो । गाउँ गाउँमा सिंहदरवार भन्ने नारा व्यापक थियो तर आम जनताले सोचे जस्तो अनुभूति गर्न पाएनन । जनआपेक्षा विपरित हुँदै गयो । अझ स्थानीय जनप्रतिनिधिहरु नै भ्रष्टाचारमा संलग्न भएको भन्ने व्यापक जनगुनासो आएको छ । जनताको समस्या बुझेर सोही बमोजिम समाज र सिंगो मुलकुलाई विकास र समृद्धिको मार्गमा लानुपर्ने जनप्रतिनिधिहरु प्रति नै जनताबाट भ्रष्टाचारको गुनासो आउनु दुर्भाग्यको कुरा हो । यसमा सबै बेलैमा सचेत हुनपर्ने देखिन्छ ।
भ्रष्टाचार निवारणका उपायहरु
नेपालमा भ्रष्टाचार एक डरलाग्दो रोगको रुपमा देखा परेको छ । समयमै यसलाई नियन्त्रण नगर्ने हो भने देशलाई उन्नतिको मार्गबाट पछाडि धकेल्छ । भ्रष्टाचार नियन्त्रणका लागि पहिला त प्रत्येक व्यक्ति सचेत र जागरुक हुन आवश्यक छ । व्यक्तिमा सचेतना बृद्धि हुँदा भ्रष्टाचारको कमी ल्याउन सकिन्छ । यस्तै व्यक्तिको नैतिक आचारणमा पनि सुधार ल्याउनुपर्छ ।
भ्रष्टाचार नियन्त्रणका लागि सबल राजनीतिक नेतृत्व र राजनीतिक नेतृत्वमा ईच्छाशक्ति आवश्यक पर्छ । प्रभावकारी कानुन निर्माण गरी प्रभावकारी रुपमा लागू गर्दा भ्रष्टाचारमा कमी ल्याउन सकिन्छ । अख्तियार, राष्ट्रिय सर्तकता केन्द्र, राजस्व अनुसन्धान लगायतका संस्थालाई अझ अधिकार सम्पन्न र प्रभावकारी बनाइनुपर्छ । भ्रष्टाचार गर्नेलाई कानुनी दायरामा ल्याई कडा भन्दा कडा सजाय दिनुपर्छ । साथै भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्छ ।
यसले भ्रष्टाचार न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । त्यसैले हरेक व्यक्तिको आर्थिक उन्नतिमा जोड दिंदै जीवनस्तर उकास्न राज्यले विशेष ध्यान पु¥याउनुपर्छ । मुख्य कुरा त हरेक व्यक्ति सचेत र सजग रहँदा भ्रष्टाचार स्वतः हराएर जान्छ । जसका लागि व्यापक जनचेतना वृद्धि गर्न आवश्यक छ ।
अन्त्यमा…
अहिले सबै क्षेत्रमा भ्रष्टाचार व्याप्त छ । जसले गर्दा राष्ट्र निर्माणका हरेक प्रयास कमजोर बनेका छन । हरेक नागरिकमा जनचेतना वृद्धि गरी सचेत बनाउनुपर्छ । भ्रष्टाचार गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्छ । प्रभावकारी अनुसन्धान गरी जो कोहीलाई पनि उन्मुक्ति दिनु हुँदैन । भ्रष्टाचार देश विकासको बाधक हो । भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गरी समतामूलक न्यायपूर्ण र भ्रष्टाचारमुक्त समाज निर्माणमा सबै एक जुट भएर लाग्नु पर्दछ । तबमात्र समृद्ध नेपालः सुखी नेपाली अभियान सार्थक र सफल हुन्छ ।
(लेखक काठमाडौं महानगरिपालिका–७ का वडा सदस्य हुन् ।)
वि.सं.२०७६ पुस १८ शुक्रवार १२:५७





















