YouTube Link

नेपालको बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदन सार्वजनिक

Facebook Link

काठमाडौं: नेपालमा ३१ हजार ५१२ घरमा बालबालिका अभिभावकीय भूमिकाको रूपमा रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रवार काठमाडौंमा सार्वजनिक गरेको बालबालिका सम्बन्धी तथ्यांकीय प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको हो ।

 

१० वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकाहरूसँग गरिएको कुराकानीमा सो तथ्याङ्क भेटिएको सो कार्यालयका जनसङ्ख्या शाखाका निर्देशक ढुण्डिराज लामिछानेले जानकारी दिए । नेपालमा ६६ लाख ६० हजार ८४१ परिवार रहेका छन् । ती परिवार मध्ये ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको देखिएको सो तथ्याङ्कमा भनिएको छ ।

 

निर्देशक लामिछानेले त्यसमा पनि बालिकाहरू बढी परिवारमुलीको रूपमा रहेको पाइएको पनि बताए । उनकाअनुसार बालक ०.३६ प्रतिशत र बालिका ०.७१ प्रतिशत छन् । परिवारमुलीको रूपमा बालिकाको सङ्ख्या बढी देखिएको पनि निर्देशक लामिछानेले बताए । प्रतिवेदनमा शहरी र अर्ध शहरी क्षेत्रमा बालिकाहरूको सङ्ख्या परिवारमुलीको रूपमा बढी रहेको पनि औँल्याइएको छ ।

 

निर्देशक लामिछानेले भने, ‘कति वटा परिवारमा बालबालिका रहेछन् भनेर हेर्दा खेरी नेपालमा करिब ७१ दशमलव ३ प्रतिशत परिवारमा बालबालिकाको उपस्थिति रहेछ । कम्तीमा एक जना बालबालिका भएको परिवार ७१.३ प्रतिशत रहेछन् । ३० प्रतिशत घरमा करिब २९ प्रतिशत परिवारमा बालबालिका रहेनछन् भन्ने कुरा आयो । अब परिवारमुलीको हिसाबले हामीले ६६ लाख ६० हजार ८४१ परिवार हाम्रो जम्मा परिवार हो । त्यो परिवारमध्ये ३१ हजार ५१२ परिवारमा परिवारमुली बालबालिका रहेको अवस्था देखिन्छ । १० वर्षदेखि १७ वर्ष उमेरका बालबालिका परिवारमुलीको रूपमा रहेका छन् । यो पर्सेन्टेजको हिसाबले भन्ने हो भने नेपालमा ० दशमलव ४७ प्रतिशत बालबालिकाहरू परिवारमुलीको रूपमा रहेका छन् भने बालक चाहिँ ० दशमलव ३६ प्रतिशत र बालिका ० दशमलव ७१ प्रतिशत भनेपछि परिवारमुलीको रूपमा बालिकाको सङ्ख्या अलि बढी देखिन्छ । र शहरी र अर्ध शहरी क्षेत्रमा हामीले हेर्यौँ भने बालिकाहरूको सङ्ख्या परिवारमुलीको रूपमा बढी रहेको देखिन्छ । सबैभन्दा बढी ग्रामीण क्षेत्रमा ० दशमलव ६९ प्रतिशत रहेको छ ।’ ७१ दशमलव ३ प्रतिशत परिवारमा बालबालिका रहे पनि करिब २९ प्रतिशत परिवार भने बालबालिकाविहीन रहेको पाइएको निर्देशक लामिछानेले बताए ।

 

नेपालमा बालबालिकाको सङ्ख्या घट्दै गएको प्रतिवेदनले देखाएको छ । निर्देशक लामिछानेका अनुसार पछिल्लो १० वर्षको अवधिमा बालबालिकाको सङ्ख्या १०.९ प्रतिशतले घट्न गएको छ । नेपालका हाल ९८ लाख ६९ हजार ५८३ अर्थात् कुल जनसङ्ख्याको ३३.८ प्रतिशत बालबालिका रहेका छन् ।

 

१७ वर्षसम्मको जनसङ्ख्या ९८ लाख ६९ हजार ५८३

नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मध्ये बालबालिका (१८ वर्षभन्दा कम उमेरका अर्थात् ० देखि १७ वर्षसम्मका) को ९८ लाख ६९ हजार ५८३ (३३.८ प्रतिशत) रहेका छन् । जसमध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेको छ । कुल पुरुषमध्ये बालक ३६ प्रतिशत र कुल महिलामध्ये ३२ प्रतिशत बालिका रहेका छन् ।

 

बालबालिकाको लैङ्गिक अनुपात १०७.६ जना अर्थात् प्रतिएक सय जना महिलामा १०७.६ जना पुरुष रहेको छ । जबकि समग्र जनसङ्ख्यामा महिलाको जनसङ्ख्या पुरुषको भन्दा करिब ६.५ लाखले बढी छ भने समग्र बालबालिकाको जनसङ्ख्यामा बालकको जनसङ्ख्या बालिकाको भन्दा करिब ३.६ लाखले बढी रहेको छ । त्यसै गरी समग्र लैङ्गिक अनुपात ९५.६ मा बालबालिका लैङ्गिक अनुपात निकै बढी देखिएको छ ।

 

नेपालमा सबैभन्दा धेरै १० देखि १४ वर्षसम्मका बालबालिका

नेपालमा सबैभन्दा धेरै (२९.५%) १० देखि १४ वर्षसम्मका बालबालिका रहेका देखिन्छन् । दोस्रो, तेस्रो र चौथोमा रहेका छन् क्रमशः ५ देखि ९ वर्ष, ४ वर्षभन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिका छन् ।

 

बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर १.१ प्रतिशत

वि.सं. २०५८ बाट २०६८ मा बालबालिकाको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहेको थियो । वि.सं. २०६८ बाट २०७८ मा पुग्दा यो ऋणात्मक रह्यो । अहिले यो – १.१ प्रतिशत हुन पुगेको छ । यस दश वर्षको अवधिमा समग्र जनसङ्ख्या १०.१ प्रतिशतले थप हुँदा बालबालिकाको जनसङ्ख्या १०.९ प्रतिशतले घट्न गएको देखिएको छ । जसमध्ये बालकको तुलनामा बालिकाको जनसङ्ख्या करिब ४ प्रतिशत बिन्दुले बढीले घटेको छ ।

 

बागमती र गण्डकी प्रदेशका परिवारमा बालबालिका बसोबासमा कमी

नेपालका कुल परिवार ६६ लाख ६६ हजार ९३७ मध्ये ७१.३ प्रतिशत परिवारमा कम्तीमा एक जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन् । सबैभन्दा बढी तराईका ७६.१ प्रतिशत परिवारमा बालबालिकाको बसोबास रहेको छ भने सबैभन्दा कम पहाडका परिवारमा कम बालबालिका बसोबास रहेको देखिएको छ । अर्धशहरी (७६.४ प्रतिशत) र ग्रामीण (७०.५ प्रतिशत) क्षेत्रको तुलनामा शहरी (६५.० प्रतिशत) क्षेत्रका कम परिवारमा बालबालिका बसोबास रहेको छ । बालबालिकाको बसोबास बागमती र गण्डकी प्रदेशका परिवारमा अन्य प्रदेशको तुलनामा कम छ ।

 

नेपालका एकल परिवारमा ५४.१ प्रतिशत र ४५.९ प्रतिशत संयुक्त परिवारमा कम्तीमा एक जना बालबालिका बसोबास रहेको छ । मधेस र सुदूरपश्चिम प्रदेशमा करिब बराबर पारिवारिक संरचना (एकल र संयुक्त) मा बालबालिकाको बसोबास रहेको छ भने अन्य प्रदेशमा संयुक्त परिवारमा भन्दा एकल परिवारमा बालबालिकाको बसोबास रहेको छ । यसले परिवारको संरचना एकल परिवारतर्फ उन्मुख भएको देखिएको तथ्याङ्कमा देखाइएको छ ।

 

१० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह

देशका १० देखि १७ वर्षसम्मका कुल बालबालिकामध्ये १.६ प्रतिशतको विवाह भएको छ । विवाहित बालबालिका सर्वाधिक (२.६%) कर्णालीमा र सबैभन्दा न्यून (१.१%) बागमतीमा रहेको देखिन्छ । नेपालमा बाल विवाह विद्यमानतादर १४.१ प्रतिशत छ । पुरुषतर्फ यो मान ५.० प्रतिशत भने महिलातर्फ २१.९ प्रतिशत रहेको छ । बालविवाहलाई दिगो विकासको महत्त्वपूर्ण सूचकको रूपमा लिइएको छ । यो सूचक कुल २० देखि २४ वर्षका महिलामा २० देखि २४ वर्षका विवाहित महिलाले १८ वर्ष नपुग्दै विवाह गरेको अधारमा गणना गरिन्छ । प्रदेशस्तरमा बाल विवाह हुने पुरुषको सर्वाधिक (९.५%) विद्यमानतादर कर्णाली प्रदेशमै रहेको छ भने दोस्रो (५.७%) मधेस प्रदेश र तेस्रो (५.५%) लुम्बिनी र सुदूरपश्चिम प्रदेश रहेका छन् । यी तथ्याङ्कले नेपालमा पुरुषको तुलनामा महिलाको बाल विवाहको विद्यमानतादर दोब्बरभन्दा बढी रहेको स्पष्ट देखिन्छ । हिमाल, पहाड र तराईको विश्लेषण गर्दा गणनाको समयमा २० देखि २४ वर्ष उमेर भएका पुरुष र महिलामध्ये १८ वर्ष उमेर पूरा नभई हुने बाल विवाह सर्वाधिक (१५.४%) तराईमा छ भने हिमालमा १४.९ प्रतिशत र पहाडमा १२.२ प्रतिशत मात्र छ । यसबाट बाल विवाहको समस्या तराई र पहाडमा भन्दा हिमालमा न्यून रहेको देखिन्छ ।

 

परिवारको सम्पन्नताको पञ्चम वर्गीकरणअनुसार गणनाको समयमा २० देखि २४ वर्षका युवा र युवतीको जनसङ्ख्यालाई हेर्ने हो भने बाल विवाह अति न्यून वर्गभित्र सर्वाधिक (२०.८%) रहेको देखिन्छ । न्यून वर्गभित्रका बालबालिकामा बाल विवाहको विद्यमानता (१७.८ %) रहेको छ । अति उच्च वर्गमा यो सबैभन्दा न्यून (४.९ %) छ भने उच्च वर्गमा यो ११.७ प्रतिशत मात्र छ (तालिका २७) । यसरी परिवार सम्पन्न हुँदै जाँदा बाल विवाहजस्तो सामाजिक समस्या पनि केही हदसम्म घट्दै गएको देखिन्छ ।

 

बालबालिका र साक्षरतादर

५ वर्ष र सोभन्दा माथिल्लो कुल जनसङ्ख्यामध्ये ९४.१ प्रतिशत साक्षर रहेको देखिएको छ । साक्षर बालबालिकामध्ये ४६.१ प्रतिशतले प्राथमिक तह पूरा गरेको देखिन्छ । एस.ई.ई. वा सोसरह र सोभन्दा माथिको तह उत्तीर्ण गर्नेको अंश ६ प्रतिशत रहेको छ । नेपालमा अझै पनि ५.४ प्रतिशत बालबालिका कहिल्यै विद्यालय नगएका छन भने विचैमा पढ्न छाडेका ५.३ प्रतिशत देखिन्छ । विद्यालय नजाने बालबालिका हिमाल र पहाडको तुलनामा तराईमा सर्वाधिक (८.०%) रहेको छ । पहाडमा यो केवल १.९ प्रतिशत रहेको छ । प्रादेशिक तहमा हेर्दा १४.० प्रतिशतसहित मधेस सबैभन्दा उच्च अवस्थामा छ भने गण्डकी १.१ प्रतिशतसहित न्यूनतम अवस्थामा छ ।

 

किशोरी आमाको सङ्ख्या

बालबालिकाको उमेर समूहभित्र पर्ने किशोरी आमा (१३ देखि १७ वर्षसम्म) १५ हजार १२५ जना रहेका छन् । किशोरी आमामध्ये सर्वाधिक (४८.४%) तराईमा छन् भने हिमालमा ७.६६ प्रतिशत रहेका छन् । शहरी क्षेत्रको तुलनामा ग्रामीण क्षेत्रमा किशोरी आमा बढी छन् ।

 

बालबालिकाको मृत्युको अवस्था

मृत्यु भएका कुल १५ हजार ८६८ बालबालिकामध्ये सर्वाधिक (६३.९%) अंश ४ वर्षभन्दा कम उमेरका बालबालिकाको रहेको छ । दोस्रो (१३.३%), तेस्रो (१२.६%) र अन्तिममा (१०.३%) क्रमशः १०(१४, ५(९ र १५(१७ उमेर समूहका बालबालिका रहेका छन् ।

 

घरको स्वामित्व र बालबालिकाको उपस्थिति

बालबालिका भएका परिवारमध्ये ८७.४ प्रतिशतको आफ्नै स्वामित्वको घर, ११.५ प्रतिशतको भाडाको घर, ०.४ प्रतिशत संस्थागत घर र ०.७ प्रतिशत अन्य प्रकारको आवासीय एकाइमा बसोबास गर्दछन् ।

 

बालबालिका र घरेलु कामदार

१८ वर्षभन्दा मुनिका घरेलु कामदारको हैसियतमा परिवारभित्र रहेका बालबालिका नेपालमा ०.०३ प्रतिशत रहेको तथ्याङ्क कार्यालयले जनाएको छ ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

कर्णालीलाई पराजित गर्दै शीर्ष एपिएफ शीर्ष स्थानमा उक्लियो

वि.सं.२०८१ भदौ ३० आइतवार १५:३०

काठमाडौं: विभागीय टोली नेपाल एपिएफ फुटबल क्लबले कर्णाली प्रदेशलाई पराजित...

एनपिएलका लागि ८ टोलीका मार्की खेलाडीको घोषणा

एनपिएलका लागि ८ टोलीका मार्की खेलाडीको घोषणा

वि.सं.२०८१ भदौ २८ शुक्रवार १५:०९

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपिएल) को ८ टोलीका मार्की खेलाडीको...

ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारले जम्मा गर्यो ६५ लाख रुपैयाँ पुरस्कार

ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा सरकारले जम्मा गर्यो ६५ लाख रुपैयाँ पुरस्कार

वि.सं.२०८१ भदौ २८ शुक्रवार १३:४६

काठमाडौं: ऐतिहासिक ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनको खातामा ६५ लाख...

उमाकुण्डमा आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

उमाकुण्डमा आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ भदौ २८ शुक्रवार १३:२३

रामेछाप: उमाकुण्ड गाउँपालिकाको आर्थिक वर्ष ०८०/०८१ को वार्षिक समिक्षा कार्यक्रम...

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका ४ नवनियुक्त मन्त्रीले लिए शपथ

वि.सं.२०८१ भदौ २८ शुक्रवार ११:१४

काठमाडौं: कोसी प्रदेश सरकारमा नेपाली कांग्रेसका नवनियुक्त ४ जना मन्त्रीले...

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

अदालतको निर्णयले यातायात व्यवसायीहरूलाई महत्वपूर्ण राहत: महासचिव बानियाँ

वि.सं.२०८१ भदौ २७ बिहीवार १६:०२

काठमाडौं: नेपाल ट्रक यातायात व्यवसायी महासंघले २०७५ श्रावण १ गते...