उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

वि.सं.२०८० चैत २० मंगलवार ०९:०४
849
shares
काठमाडौं: नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बस्न लागेको हो । पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आसन्न उपनिर्वाचनका लागि उम्मेदवार तय गर्न बैठक बस्न लागेको बताए ।
आगामी बैशाख १५ इलाम क्षेत्र नम्बर-२ मा प्रतिनिधि सभा र बझाङ १ क मा प्रदेश सभाको उपनिर्वाचन हुँदैछ । आगामी शनिबार उम्मेदवारको मनोनयन पत्रको दर्ता समय तोकिएकामा अहिलेसम्म कांग्रेसले उम्मेदवार तय गर्न सकेको छैन । अन्य दलका प्रस्तावित उम्मेदवारहरु चुनावी क्षेत्रमा भोट माग्दै घरघरमा गइरहँदा कांग्रेसका आकांक्षीहरु भने दलका नेताहरुको घरमै जान व्यस्त छन् ।
यसअघि सभापति देउवाले उम्मेदवारको चयनका लागि हिजो दिउँसो आफ्नै निवासमा पदाधिकारी र पूर्व पदाधिकारीलाई छलफलमा बोलाएका थिए । इलाम-२ मा यसअघि एमालेले जितेको थियो भने बझाङ १ क मा कांग्रेसले जितेको थियो ।

वि.सं.२०८० चैत २० मंगलवार ०९:०४