प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ: राष्ट्रपति रामचन्द्र पौडेल

वि.सं.२०८० कात्तिक २० सोमवार १५:०३

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी-व्यापारीलाई आव्हान गरेका छन् ।
एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ (क्यासी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को संयुक्त आयोजनामा काठमाडौँमा दुई दिनसम्म चल्ने ३७औँ क्यासी सम्मेलनको सोमबार यहाँ उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आव्हान गरेका हुन् । ‘नेपालमा लगानीका अवसर बढदै गएका छन् र लगानी सहज बनाउने कानुनहरु निर्माण भैरहेका छन्, म कृषि, पर्यटन र उर्जा क्षेत्रमा लगाानीका लागि अन्तराष्ट्रिय उद्योगी–व्यापारीलाई आव्हान गर्दछु’, राष्ट्रपतिले भने ।
राष्ट्रपति पौडेलले आर्थिक विकासको तिब्र चाहना बोकेको हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तराष्ट्रिय जगतसँग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसरहरू रहेको धारणा व्यक्त गरे । ‘नेपाली विद्युतको बजार अब भारत र बंगलादेश पनि बन्दैछ, विद्युत व्यापारका क्षेत्रमा पछिल्ला दिनमा भएका प्रगतिले जलविद्युतमा लगानी गर्न चाहने उद्यमीका लागि महत्वपूर्ण अवसर खोलेको छ । म नेपालको जलविद्युतको क्षेत्रमा लगानी गर्न तपाईंहरू सबैलाई आह्वान गर्दछु ।’
राष्ट्रपति पौडेलले शुक्रबार राति गएको भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीहरुलाई अपिल पनि गरे । राष्ट्रपति रामचन्द्र पौडेलले साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड भएको बताए । ‘आधुनिक युगमा दिगोपन एक शब्दजाल मात्र होइन, यो हाम्रो भविष्यको आधारशीला हो । साना र मझौला उद्यमहरू हाम्रो अर्थतन्त्रको मेरुदण्ड हुन् । तिनीहरूले वृद्धि, नवीनता र रोजगारी सिर्जना गर्छन् ।’
राष्ट्रपति पौडेलले व्यापार हाम्रो अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएको बताए । ‘यसले आर्थिक वृद्धिलाई मात्र हैन, सीमापार सम्बन्ध निर्माण र कायम राख्न उर्जा प्रदान गर्दछन्’, राष्ट्रपति पौडेलले भने, ‘व्यवसाय क्षेत्रका संगठनहरुले व्यापार सहज बनाउन प्रदान गर्ने मध्यस्थता, प्रक्रियाहरूको डिजिटलाइजेसन र सञ्जालीय अवसरलगायतका सेवा व्यवसायलाई संसारसँग जोड्ने औजार हुन् । यी गतिविधि कारोबार मात्र होइनन्, यिनले विश्वव्यापी बहुपक्षीयतावादलाई सवलीकरण गर्न योगदान गर्दछन् । फलस्वरूप पारस्परिक लाभदायक सम्बन्धमार्फत् विश्वव्यापी शान्तिलाई बलियो बनाउन योगदान गर्नेछ ।’
नेपाल भौगोलिक रुपमा चीन र भारतबीच हुनु व्यापारका लागि रणनीतिक फाइदा हो भन्दै उनले यो स्थितिले नेपाललाई ती विशाल उपभोक्ता बजारमा पहुँच गर्न खोज्ने व्यवसायहरूको लागि प्राकृतिक प्रवेशद्वार बनाउने बताए । ‘दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) लगायतका क्षेत्रीय व्यापार सम्झौताहरूमा नेपालको सदस्यताले यस क्षेत्रका व्यापार साझेदारको विशाल सञ्जालमा व्यवसायलाई पहुँच प्रदान गर्दछ’, राष्ट्रपति पौडेलले भने ।
नेपालको श्रम बजारमा सक्रिय, अनुशासित र शान्तिप्रिय श्रमशक्ति अधिक छ, यो दक्ष श्रम, नवप्रवर्तन र उद्यमशीलताको सम्भावना खोज्ने व्यवसायहरूको लागि सम्पत्ति भएको उनको धारणा थियो । उनले देशको बढ्दो मध्यम वर्ग एक उदीयमान उपभोक्ता बजार हो, जसले खुद्रा, उपभोग्य वस्तु र सेवालगायत विभिन्न उद्योगका लागि अवसर हुने बताए ।
प्राकृतिक विविधतायुक्त नेपालले पर्यटन क्षेत्रको विकासको प्रचुर सम्भावना बोकेको छ र यसमा आज हुने लगानीले भोलि प्रतिफल दिने राष्ट्रपतिले विश्वास व्यक्त गरे । सूचना प्रविधि, उत्पादनमूलक उद्योग, कृषिजन्य उद्योग नेपालमा सम्भावना भएका अन्य क्षेत्र भएकाले यी क्षेत्रमा पनि लगानी बढाउन उनले आग्रह गरे । ‘म सबै सहभागीलाई भविष्यलाई दिगो, नवीन र समृद्ध आकार दिन उद्योग वाणिज्य र निजी क्षेत्रको शक्ति प्रयोग गर्न आग्रह गर्न चाहन्छु । आउनुहोस् सँगसँगै काम गरौं, हाम्रा अन्तर्दृष्टि बाँडौं र एक अर्कालाई हाम्रो व्यवसाय, हाम्रो समुदाय र हाम्रो संसारमा सकारात्मक प्रभाव पार्न प्रेरित गरौं’, राष्ट्रपति पौडेलले बताए ।
राष्ट्रपति पौडेलले ३७औं क्यासी सम्मेलन नेपालको व्यापार, लगानी र एसिया प्रशान्त क्षेत्रका देशहरूसँगको कनेक्टिभिटीलाई आगामी दिनमा अगाडि बढाउने औजार हुने बताए । यस सम्मेलनका विषय विश्वव्यापी चिन्ता मात्र होइन, नेपालको आर्थिक विकास र दिगोपनका लागि उत्तिकै सान्दर्भिक भएको राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरे ।

वि.सं.२०८० कात्तिक २० सोमवार १५:०३