कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा आज सुनुवाइ हुने
वि.सं.२०८० भदौ १९ मंगलवार १०:१९
1.8K
shares
काठमाडौं: कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्धको रिटमा सर्वोच्च अदालतको पूर्ण इजलामा आज पनि सुनुवाइ हुने भएको छ ।
नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्कीले दायर गरेको रिटमाथि सोमबारदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ सुरु भएको थियो । प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको दाबी गर्दै एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । रिटमाथि सोमबार भएको सुनुवाइमा निवेदक पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । आज सरकारी वकिल र मुख्यमन्त्री थापाका कानुन व्यवसायीको बहस हुनेछ ।
विपक्षीको बहस सकिएपछि निवेदक पक्षका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । जवाफी बहस पनि सकिए आजै अदालतले फैसला सुनाउनेछ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा बहस नसकिएपछि रिटलाई हेर्दाहेर्दैमा राखिएको छ ।
कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए । उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।
रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै भदौ ७ गते न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कोशी सरकारले विश्वासको मत लिँदा प्रक्रिया मिलेको नदेखिएको भन्दै दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्चको आदेशपछि थापा नेतृत्वको प्रदेश सरकार कामचलाउ अवस्थामा छ ।
कोशी प्रदेश सरकार गठनको विवादमा यसअघि पनि दायर भएको रिटमाथि ३ न्यायाधीशको इजलासले निरन्तर सुनुवाइ गरी टुंगोमा पुर्याएको थियो । सर्वोच्चले विश्वासको मत लिने प्रक्रिया मात्र बदर गर्छ कि संविधानको धारा १६८ को उपधारा (३) अनुसार सरकार गठनको आदेश दिन्छ भन्नेमा मुख्यमन्त्री थापाको भविष्य निर्धारण हुनेछ ।
विश्वासको मत पुनः लिनु भनेमा थापाले बहुमत पुर्याउनका लागि अभ्यास गर्न पाउनेछन् । यदि उपधारा २ मा सरकार बन्ने नदेखिएकाले अरु धारामा जानू भनेमा प्रदेश सभाको सबैभन्दा ठूलो दल एमालेले सरकार बनाउन पाउने छ । एमालेसँग पनि राप्रपा मिलेर ४६ सासद छन् ।
वि.सं.२०८० भदौ १९ मंगलवार १०:१९




















