९ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट क्यानडेली नागरिक पक्राउ
वि.सं.२०७९ माघ १९ बिहीवार १०:१७
1.8K
shares
काठमाडौं: दुबईबाट आएका युएई मूलका क्यानडेली नागरिक त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित पक्राउ परेका छन् । उनलाई गएराती पक्राउ परेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
मोहमदलाई ९ किलो १३५ ग्राम अवैध सुनसहित पक्राउ गरिएको विमानस्थल भन्सार कार्यालयले जानकारी दिएको छ । भन्सार कार्यालयका अनुसार ती क्यानेडियन नागरिकले कम्मरमा फल्स बटन बनाएर ८ वटा बिस्कुट आकारका एक किलो भन्दा बढी मात्राको सुन ल्याएका थिए ।
उनको साथबाट बरामद गरिएको नीलो आवरणमा रहेको वस्तु पनि परीक्षण गर्दा सुन भएको पाइएकोले उनीमाथि थप अनुसन्धान गरिरहेको भन्सार कार्यालयले जनाएको छ ।
पछिल्लो समय सुन भारत लैजाने प्रयोजनका लागि नेपाललाई ट्रान्जिट बनाइँदै आएको अनुसन्धानमा देखिएको छ । यसअघि १९ किलो सुनसहित प्रहरीले गत महिना दुई सुडानी नागरिकलाई पक्राउ गरेको थियो ।
गएराति बरामद गरिएको सुन पनि त्यसैको निरन्तरता हुन सक्ने आशंका गरिएको छ । सुडानी र क्यानडेली नागरिकको संलग्नता र नेक्ससमामाथि केन्द्रित भएर पनि अनुसन्धान थालिएको छ ।
वि.सं.२०७९ माघ १९ बिहीवार १०:१७



















