ग्रेडरले च्यापिएर विद्यार्थीको मृत्यु भएपछि धनगढीमा तनाव उत्पन्न

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:३६

धनगढी: धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा नजिकै ग्रेडरले कुल्चिएर पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्युपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् ।
उक्त विद्यालयका विद्यार्थीले आन्दोलन गर्दै धनगढी-स्याउले सडक अवरुद्ध पारेका छन् । उनीहरूले धनगढी बजारका विभिन्न ठाउमा टायर जलाउँदै सडक अवरुद्ध पारेका हुन् । जिल्ला प्रहरी कार्यालयको गेटमा टायर बालेर नाराबाजी गरेपछि प्रहरीले ६ राउन्ड अश्रुग्यास हानेको छ ।
आज बिहान हसनपुर पिपलचौतारा नजिकै ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडरले लेबल मिलाउँदै ब्याक गर्ने क्रममा कुल्चिँदा धनगढी उपमहानगरपालिका-५ तारानगरकी साउदको मृत्यु भएको थियो ।
चालक चितवन भरतपुर महानगरपालिका २८ वर्षीय बिमल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिलेसम्म शव उठाइएको छैन । प्रहरी प्रवक्ता डीएसपी बेदप्रसाद जोशीले पीडितको परिवारलाई शव संकलन गर्न र पीडकसँग वार्तामा बस्न आग्रह गरिको बताए ।

वि.सं.२०७९ मंसिर १५ बिहीवार १६:३६