पश्चिमी वायुको प्रभाव: हिमाली भू-भागमा मध्यम हिमपातको सम्भावना

वि.सं.२०७९ कात्तिक २४ बिहीवार ०८:१३

काठमाडौं: नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागको मौसम पूर्वानुमान महाशाखाले बिहीबार बिहान जारी गरेको बुलेटिनमा हिमाली भू-भागमा मध्यम हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनु आग्रह गरेको छ ।
बिहीबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको छ ।
जारी बुलेटिनमा भनिएको छ, ‘आगामी २४ घण्टामा देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मध्यम वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउनुहोला । साथै तापक्रममा कमी आउने सम्भावना भएकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहोला ।’
शुक्रबार देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

वि.सं.२०७९ कात्तिक २४ बिहीवार ०८:१३