सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम चरणका खेल आजबाट सुरु हुँदै, पहिलो दिन तीन खेल
वि.सं.२०७६ फागुन १ बिहीवार ०८:०८
1.7K
shares
काठमाडौं: सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरणका खेल आजबाट सुरु हुदैछ । अन्तिम चरणको पहिलो दिन आज तीन खेलहरु हुनेछ । पहिलो खेलमा पुलिस र फ्रेन्ड्स, दोस्रोमा एपीएफ र ब्रिगेड तथा तेस्रोमा सरस्वती र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
रेलिगेशनमा पर्ने अन्तिम एक टोलीको टुङ्गो लागिसकेको छ । सरस्वती अर्को सिजनका लागि बी डिभिजनमा घटुवा हुने पक्का भएको छ । लिग विजेताको टुङ्गो भने मछिन्द्र र आर्मीबीचको अन्तिम खेलले लगाउनेछ । पहिलो खेलमा भिड्न लागेको पुलिस र फ्रेन्ड्स दुवै शीर्ष ६ का दाबेदार हुन् । तर फ्रेन्ड्सको शीर्ष ६ मा रहदै राष्ट्रिय लिग खेल्ने गणितिय सम्भावना मात्र रहेको छ । पुलिस भने फ्रेन्ड्सबिरुद्व जित निकाल्दै शीर्ष ६ को दौडमा आफुलाई सुरक्षित गर्न चाहन्छ । फ्रेन्ड्स १४ अंक सहित तालिकाको दशौं स्थानमा छ । पुलिस भने १७ अंक सहित तालिकाको छैटौ स्थानमा छ ।
अर्को खेलमा एपीएफ र ब्रिगेड आमने सामने हुनेछन् । रेलिगेशनबाट जोगिएका दुवै टिम लिगको सुखद अन्त्य गर्ने दाउमा छन् । एपीएफ ८ अंक सहित तालिकाको १३ औं स्थानमा रहँदा समान अंक जोडेको ब्रिगेड १२ औं स्थानमा छ ।
आजै हुने अन्तिम खेलमा सरस्वती र संकटा भिड्नेछन् । यस सिजन रेलिगेशनमा परेको सरस्वती लिगको अन्तिम खेलबाट सुखद बिदाई लिन चाहन्छ । तर राष्ट्रिय लिग खेल्ने अभियानमा रहेको संकटालाई लिगको शीर्ष ६ को दौडमा कायम रहन जित निकाल्नै पर्ने दबाब छ । संकटा १५ अंक सहित नवौं स्थानमा छ । चार अंक जोडेको सरस्वती तालिकाको पुछारमा छ ।
वि.सं.२०७६ फागुन १ बिहीवार ०८:०८




















