नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीद्वारा दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै पदभार ग्रहण
वि.सं.२०७६ माघ २९ बुधवार १४:३१
1.5K
shares
काठमाडौं: नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले आज प्रहरी प्रधान कार्यालयमा आफ्नो पदभार ग्रहण गर्नुभएको छ । गृह मन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव महेश्वर न्यौपानेबाट दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै कार्यकक्षमा पुगेर आज पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई प्रहरी प्रधान कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहसहित, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृत तथा जवानले स्वागत गरेका थिए ।
सोही क्रममा उहाँले प्रहरी प्रधान कार्यालय परिसरस्थित मन्दिरमा पूजाअर्चना गर्नाका साथै अमर प्रहरी स्मारकमा पुष्पहार र अमर प्रहरीप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो । मन्त्रिपरिषद्को मङ्गलबारको निर्णयले उहाँलाई आजदेखि लागू हुनेगरी प्रहरी नायब महानिरीक्षकबाट प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो । उहाँको कार्यकाल जम्मा पाँच महिनाको छ ।
एक बिशेष समारोहबीच गृहसचिव महेश्वर न्यौपानेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक ज्ञवालीलाई बधाई तथा शुभकामना दिँदै कार्यकाल सफलताको कामना दिनुभयो । उक्त अवसरमा गृहसचिव न्यौपानेले दर्ज्यानी चिन्ह प्रदान पश्चात प्रहरी महानिरीक्षक ज्ञवालीले व्यक्त गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्दै प्रहरी संगठनलाई अझ उच्च मनोबलयुक्त र सक्षम संगठनको रुपमा विकास गर्न सम्पूर्ण लगन, मेहनत, तत्परता, ईमानदारिता, कार्यकुशलता र क्रियाशीलता वहन गर्ने अपेक्षा रहेको बताउनुभयो ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्यावएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्री तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गर्नुभयो । नेपाल प्रहरी नेपालको संविधानको सफल कार्यान्वयन, विधिको शासन, नागरिकको नैसर्गिक हक अधिकारको संरक्षण गर्न दृढसंकल्पित रहेको उल्लेख गर्दै प्रहरी महनिरीक्षक ज्ञवालीले अवाञ्छित, ध्वंसात्मक र संविधान विपरितका गतिविधिलाई पूर्ण नियन्त्रण, निस्तेज गरी कानुनको दायरामा ल्याउन नेपाल प्रहरी दृढ रहेको बताउनुभयो ।
नेपाल प्रहरीको सांगठनिक सुदृढिकरण र कर्मचारीको वृत्तिविकासमा थप जोड दिनु आजको आवश्यकता रहेको बताउँदै शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा आगामी दिनमा सरोकारवाला निकायहरुको मार्गनिर्देशन, सद्भानव र सहकार्य रहिरहने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
विसं २०४७ असार २५ गते प्रहरी निरीक्षक पदबाट प्रहरी सेवा प्रवेश गरेका प्रहरी महानिरीक्षक ज्ञवाली विसं २०५८ वैशाख १८ गते प्रहरी नायब उपरीक्षक, २०६६ मंसिर ३ गते प्रहरी उपरीक्षक, २०७३ असार २८ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७५ असोज २८ गते प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।
समाजशास्त्रमा स्नातकोत्तर गरेका प्रहरी महानिरीक्षक ज्ञवालीले विभिन्न ३३ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम लिनुभएको छ । प्रहरी महानिरीक्षक ज्ञवाली दुर्गम सेवा पदक, गद्दी आरोहण रजत पदक, संयुक्त राष्ट्रसङ्घ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, प्रहरी सेवा पदक, प्रबल जनसेवाश्री लगायत पदक प्राप्त गर्नुभएको छ । उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत दर्जनौँ नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्राप्त गरेको जनाइएको छ ।

वि.सं.२०७६ माघ २९ बुधवार १४:३१




















