कुवेतविरुद्धको जितसँगै नेपालको लगातार दोस्रो जित

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८
864
shares
काठमाडौं: नेपालले चारदेशिय टी-२० सिरिजमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको हो । जितसँगै नेपालले फाइनलको सम्भावना उच्च बनाएको छ । नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले पराजित गरेको थियो ।
जितसँगै शीर्ष स्थानमा रहेको नेपालले ४ अंक पुर्याएको छ । अब नेपालले लिग चरणको अन्तिम खेल शनिबार घरेलु टोली हङकङसँग खेल्नेछ । कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । कुशलले सर्वाधिक ८१ रन बनाए । ५० बल खेलेका उनले समान ६ चौका र छक्का प्रहार गरे । अर्का ओपनर आसिफ शेखले ३८ बलमा २ चौका र ४ छक्कासहित ५३ रन बनाए ।
यी दुई ब्याटरबीच पहिलो विकेटका लागि १२७ रनको साझेदारी भएको थियो । १३.५ ओभरमा आसिफ मोहम्मद अस्लामको बलमा निमिष लाथिफबाट क्याच आउट भएसँगै उक्त साझेदारी टुंगिएको थियो । कुशल मल्ल ४ र दीपेन्द्रसिंह ऐरी ३१ रनमा आउट हुँदा कप्तान रोहितकुमार पौडेल ४ र गुल्सनकुमार झा ९ रनमा अविजित रहे । हङकङका यासिन पटेलले सर्वाधिक २ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए । मोहम्मद शफिक र अस्लामको नाममा समान एक विकेट रह्यो ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८५ रनको योगफल तयार गरेको थियो । कुवेतका ओपनर क्विन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । ३० बल खेलेका उनले ४ चौका र २ छक्का प्रहार गरे । मिट भावसारले २८ बलमा २ चौका र २ छक्कासहित ३५ रन बनाए । बिलाल ताहिर ३२, रविजा सन्दारुवान २६, कप्तान मोहम्मद असलम १७ र उस्मान पटेल १३ रनमा आउट भए ।
नेपालका तीव्र गतिका बलर सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । नन्दन यादवले २ विकेट लिँदा कुशल भुर्तेल र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो ।

वि.सं.२०८१ चैत २८ बिहीवार १०:४८