नेपाल ‘ए’ र आयरल्यान्ड भिड्दै, जित्नै पर्ने दबाबमा नेपाल ‘ए’
वि.सं.२०८० चैत २३ शुक्रवार ०६:४५
1.6K
shares
काठमाडौं: एकदिवसीय शृंखला अन्तर्गत आज नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आयरल्यान्डसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे सुरु हुनेछ । यसअघि पहिलो खेलमा आयरल्याण्डले नेपाललाई २१ रनले पराजित गरेको थियो ।
तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो ।
नेपालको प्लेइङ ११ मा अर्जुन कुमाल बाहेक अन्य सबै सिनियर टोलीबाट खेलेका खेलाडी थिए । ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएका थिए । देव खनाल र अर्जुन साउद पनि टोलीमा छन् । सिनियर टोलीका यी चार खेलाडी मध्य दुईले आज ठूलो इनिङ खेल्नुपर्ने छ । नेपालको तीव्र गतिका बलरमा कमल र रिजन ढकाल हुनेछन् । स्पिनरमा सागर ढकाल, साहब आलम र मौसम ढकाल हुनेछन् । आयरल्यान्डका खेलाडीले पहिलो खेलमा स्पिनरको संघर्ष गरेका थिए । नेपालको टोलीमा परिवर्तनको सम्भावना आज कम छ ।
उता पिटर मुर, स्टेफन डोहेनी र निल रक प्रमुख ब्याटर हुन् । ग्यारेथ डेलानी र केड कार्माइकल पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । तल्लोक्रम ब्याटिङ भने कमजोरीको रुपमा छ । आयरल्यान्ड र नेपालको सिनियर टोलीबीच दुई टी-२० खेल भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल ‘ए’सँग तीन टी-२० सिरिज आयरल्यान्डले २-१ ले जितेको थियो । तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।
वि.सं.२०८० चैत २३ शुक्रवार ०६:४५



















